काठमाडौँ। सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ बाँडफाँटको मिति तय भएको छ।
कम्पनीको बिक्री प्रबन्धक कुमारी क्यापिटलका अनुसार एफपिओ बुधबार (साउन १६ गते) बाँडफाँटको तयारी भएको हो। एफपिओ बिहान ८ बजे बाँडफाँट गरीने क्यापिटलले जनाएको छ। एफपीओ हात पर्न भने भाग्यकै भरोसा किनकि यसमा मागभन्दा ५१०.१३ गुणा बढीले आवेदन परेको छ।
यसमा १६ लाख ५६ हजार ८२६ जनाले कुल २ करोड ३८ लाख ३७ हजार ९०० कित्ताको लागि आवेदन दिएका छन्। जसमध्ये ४ हजार ६७२ जनाले मात्र सेयर पाउँनेछन्। बाँकी १६ लाख ५२ हजार १५४ जनाको भने हात रित्तो हुने भएको छ।
लघुवित्तले साउन ४ गतेदेखि ८ गतेसम्म प्रतिकित्ता १०० रूपैयाँमा ४६ हजार ७२९ कित्ता एफपीओ बिक्रीमा ल्याएको हो। बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गरेको हो।
साविक सूर्योदय र वोमी लघुवित्त मर्ज भई बनेको सूर्योदय वोमी लघुवित्तको कुल चुक्ता पूँजी ९१ करोड सात लाख ८२ हजार ५०८ रूपैयाँ ५० पैसामा संस्थापक शेयरधनीको स्वामित्व ७०.३६ प्रतिशत र सर्वसाधारणको स्वामित्व २९.६४ प्रतिशत रहेको छ।