काठमाडौँ। के तपाईंको घरमा सिपेजको समस्या छ? सिपेजका बारे ६ भ्रमहरू आजको लेखमा तपाईंलाई जानकारी दिने छौँ।
सिपेज अर्थात् भित्ता छत रसाउने, पानी चुहिने समस्या प्रायजसोको घरमा अहिले समस्याको रूपमा रहेको छ। मानिसमा सिपेज सम्बन्धी विभिन्न गलत धारणाहरू पनि छन्। सिपेज भइसकेपछि कतिपयले सामान्य लिन्छन् भने कतिपयलाई रंग लागाएर छोपिन्छ भन्ने भ्रम पनि रहेको छ। कतिपय घरधनीहरूले भने बजारमा नाम चलेका सिमेन्टले प्लास्टर गर्दा, कोरामसिनो गर्दा सिपेजको समाधान हुन्छ भन्ने भ्रममा छन्। के के छन् त सिपेजका भ्रमहरू?
१. टायल हाल्दा सिपेज रोकिन्छ
टायल लगाएपछि भइरहेको सिपेज रोकिन्छ भन्ने भ्रम मात्रै हो। टायल हाल्दा केही दिनलाइ रोक्न सकिएला तर यो दिगो रूपमा समाधान गर्न सकिंदैन्। किनकी पानीको श्रोत बन्द भएको हुँदैन। बरू पानीले टायलको मसलालाई नै ड्यामेज गर्ने र पछि टायल नै उप्किने समस्या आउँछ।
२. टायल हालेर सिपेज हुन्छ
एकातिर सिपेजमा टायल लगाउँदा सिपेज हुन्छ, भन्ने भ्रम त छँदै छ भने, अर्कोतिर छत वा वाथरूममा टायल लगाउँदा सिपेज हुन्छ भन्ने भ्रम पनि पाइन्छ। वास्तविकतामा भने सिपेज र टायलबीच कुनै पनि सम्बन्ध हुँदैन। किनकी सिपेज पानि र पाइपलाइनको खराबीले गर्दा आउने समस्या हो।
३. रंग वा वालपेपर लगाएर सिपेज रोकिन्छ
धेरै जनाले थाहा नपाएर वा नपाए जस्तो गरेर सिपेजको समस्यामा रंग लगाएर छोप्ने प्रयास गरिरहेका हुन्छन्। तर रंग वा वालपेपर लगाएर सिपेज समाधान सकिँदैन। यसरी केहि दिनका लागि मात्र छोप्न सकिन्छ। कसैलाई झुक्याएर घर बेच्ने हो भने मात्र यो उपाए काम लाग्न सक्छ। नत्र रंग वा वालपेपर सिपेजको दिगो समाधान भने होइन। यसरी सही समाधान तिर नलागी समस्या लुकाउन खोज्दा सिपेजले पछि झन घरलाई ठूलो सम्यामा पारेका उदाहरणहरू धेरै छन्।
४. सिमेन्टले सिपेज रोकिन्छ
छतबाट पानी चुहिएर भएको सिपेजमा सिमेन्टको घोल हालेर समाधान गर्न खोजिएको धेरै देखिंन्छ। तर यो भ्रम मात्रै हो। सिपेजको समस्या रोक्न सक्ने कुनै पनि ब्राण्डका सिमेन्ट बजारमा बनेका छैनन्। सिपेजलाई विशेष विधिबाट मात्र समाधान गर्न सकिन्छ।
५. बर्खामा मात्र सिपेज हुन्छ
बर्खाको समयमा धेरै पानी परेर घरले थेग्न नसकेर सिपेज भएको धेरैको धारणा हुन्छ। वास्तवमा वर्खाको पानी एउटा कारण हुन सक्छ। तर वर्खामा मात्र सिपेज चाँही हँुदैन। छतमा धेरै पानी जमेर त्यसको ठीक तलका भित्ताहरूमा सिपेज हुनसक्छ। तर वाथरूमका भित्ताबाट पानी रसाएर हुने सिपेज जुनसुकै सिजनमा पनि हुन सक्छ।
६. पुराना घरमा मात्र सिपेज हुन्छ
यो सिपेजको अर्को भ्रम हो। राम्रोसँग बनाइएको घर जति पुरानो भएपनि सिपेज नहुन सक्छ। तर घर बनाउँदा राम्रोसँग ध्यान दिइएन भने नयाँ घरमा पनि सिपेज नहोला भन्न सकिँदैन यस्ता धेरै उदाहरण हामीले देखेका छौं।