आज छैटौं राष्ट्रिय च्याउ दिवस तथा परिकार महोत्सव मनाइँदै

काठमाडौँ।  च्याउ उत्पादक किसान सङ्घले आज पुस १५ गते छैटौं  ‘राष्ट्रिय च्याउ दिवस’ भव्यताका साथ मनाउँदैछ। 

महोत्सवको अवसरमा  ‘च्याउका विविध परिकारसँगै, च्याउका जातहरू अध्ययन अवलोकन तथा साङ्गितक मनोरञ्जननत्मक कार्यक्रम पनि रहेको छ। 

कार्यक्रममा च्याउसम्बन्धी अध्ययन गर्न चाहने विद्यार्थी, शिक्षक, अनुन्धानकर्ता, संघसंस्था तथा च्याउका परिकार निशुल्क चाख्न र बुझ्न सकिने संघले जनाएको छ। 

गत बर्ष सङ्घले च्याउ दिवस ललितपुरको जावलाखेलमा मनाएको थियो तर, यसवर्ष पुस १५ गते भृकुटीमण्डपस्थित खेल मैदानमा ‘च्याउ परिकार महोत्सव’ बृहत रूपमा गर्न लागेको हो।

संघले महोत्व, अवलोकन भ्रमण, अनुसन्धान, तथा जागरण अभियानहरू पनि गर्दै आइरहेको छ। सङघका अनुसार च्याउ किसानको व्यवसायिक सुरक्षा गर्नु, रैथाने च्याउबारे जानकारी गराउँदै, च्याउका विविध स्वादहरू आम जनतालाई चखाउनु यसबारे महत्व दर्शानु मूख्य लक्ष्य रहेको  छ।

संघले २०७६ सालमा मेची महाकाली राष्ट्रिय च्याउ जागरण अभियान पनि सञ्चालन गरेको थियो। जागरण अभियानले च्याउका परिकारको प्रयोग र विविध ज्ञान बढाएको संघले जनाएको छ। 

सो अभियान हेटौँडामा आएपछि प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्री दावादोर्जे लामाले राष्ट्रिय च्याउ दिवस घोषणा गरेको थिए। सोही समयदेखि सङ्घले हरेक बर्ष पुस १५ गते च्याउ दिवस मनाउँदै आएको छ। 

सोही क्रममा यस बर्ष पनि व्यवसायिक रूपमा उत्पादन हुने च्याउको उत्पादन प्रक्रिया सहित परिकार बनाएर अवलोकनकर्तालाई चखाउने कार्यक्रम रहेको सङघले जनाएको छ। सङघका अनुसार महोत्सवमा च्याउसँग सम्बन्धित करिब ४० ओटासम्म स्टलहरू रहनेछन्। 

च्याउका धेरै परिकारहरू महोत्सवमै बनाइनेछ। सम्भव भएसम्म कन्य, गोब्रे र सिताके च्याउको खेतीका लागि आवश्यक उपकरणको डेमोस्ट्रेसन र खेती प्रक्रियासमेत लाइभ देखाइनेछ। च्याउको लाइभ आर्ट पनि देखाउने कार्यक्रम रहेको छ भने फुड विज्ञ, तथा जानकारहरूबाट च्याउबारे जानकारी लिन सकिनेछ सङघले जनाएको छ।  

महोत्सवमा १० हजार अवलोकनकर्ताहरू आउने अनुमान गरिएको छ। च्याउ मेलामा परिकार खान मात्रै होइन किनेरै लान पनि सकिनेछ। साथै सो महोत्सवमा प्रवेश गर्नका लागि  भने कुनै पनि शुल्क लाग्ने छैन। 

प्रतिक्रिया