माघ ५ , काठमाडौँ । नेपाल सरकारका कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले गठबन्धनलाई अझै कसिलो बनाउन सके पाँच वर्ष अगाडि बढाउने बताएका छन् ।
सत्तापक्षीय गठबन्धनका साझा उमेदवारहरूको परिचय एवं मतदाता भेटघाट कार्यक्रमलाई आज स्याङ्जामा सम्बोधन गर्दै उनले गठबन्धनको महत्त्व अझै बढ्ने गरी सरकारलाई पाँच वर्ष अगाडि बढाउने बताए । “गठबन्धन चानचुने ढंगले अगाडि बढेको छैन,” उनले भने, “यो गठबन्धनलाई देख्दा अरूलाई ईर्ष्या, जलन भएको होला, यतिमामात्रै सीमित हुँदैन यो पाँच वर्षसम्म झनै कसिलो भएर अगाडि बढ्छ ।”
गठबन्धन सरकारले मुलुकलाई अप्ठ्यारो स्थितिबाट सहजतातर्फ ल्याएको दाबी गर्दै उनले मुलुकको समृद्धि र सुशासनका लागि पनि गठबन्धनले निरन्तरता पाउने बताए । “कुनै पनि साथीले मत नबिगार्नुहोला, मत हाल्न जानिन भन्न पाइने छैन, त्यसो गरेमा जानीजानी नियत खराब भएर बिगारेको भन्ने बुझिन्छ,” उनले भने, “गठबन्धनका साथीहरूलाई मत दिएर विजयी बनाउनुहोला, एकमतले पनि तलमाथि भएमा केही न केही विचलन ल्याउँछ ।”
यही माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशबाट सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका किरणबाबु श्रेष्ठ र पदमबहादुर परियार र नेकपा (माओवादी केन्द्र)बाट मनरूपा शर्मा उमेदवार छन् ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar