काठमाडौँ / भोटेकोशी नदीमा आयोजना गरिएको ‘२२ औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज’ राफ्टिङ प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। नेपालको जलयात्रा व्यवसायलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यका साथ नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सिज (नारा)ले नेपाल पर्यटन बोर्ड र संस्कृतिक पर्यटन तथा सहकारी मन्त्रालयको सहकार्यमा असार ११ गते भोटेकोशी नदीमा राष्ट्रिय स्तरको ‘२२ औँ हिमालयन ह्वाइट वाटर च्यालेन्ज’ आयोजना गरेको थियो।
यस राष्ट्रिय स्तरको प्रतिस्पर्धात्मक साहसिक जलयात्रा प्रतियोगितामा र्याफ्टिङ र कायकिङ प्रतिस्पर्धा भएका थिए। नौ किलोमिटर लामो दूरी रहेको यस साहसिक जल पर्यटन खेलमा र्याफ्टिङतर्फ पुरूषको १३ टिम र महिलाको एक टिम गरी १४ टिम रहेका थिए भने कायकिङमा २५ पुरूष र २ महिला गरी २७ जना सहभागी भएका थिए।
र्याफ्टिङ प्रतियोगितामा २९ मिनेट ५१ सेकेन्डमा दूरी पार गरी स्थानीय भोटेकोशी एडभेन्चर क्लबले पहिलो स्थान हासिल गर्न सफल भयो। विजेता भोटेकोशी एडभेन्चर क्लबले ४० हजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरे।
३१ मिनेट ७ सेकेन्डमा दूरी पार गरी दोस्रो स्थानमा स्थानीय राफ्टिङ स्टार रह्यो। दोस्रो स्थान प्राप्त गर्ने राफ्टिङ स्टारले २० हजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र पाए।
यसैगरी, ३१ मिनेट ३४ सेकेन्डमा दूरी पार गरी तृतीय स्थान त्रिभुवन आर्मी क्लब ‘ए’ ले हासिल गर्यो। तृतीय स्थान प्राप्त गर्ने त्रिभुवन आर्मी क्लबलाई १० हजार रुपैयाँका साथै मेडल र प्रमाणपत्र प्रदान गरियो।
कायकिङ खेलतर्फ २७ सहभागीलाई पछाडि पार्दै ३० मिनेट ५१ सेकेन्डमा दूरी पार गरी सुरेन्द्र माझी प्रथम भए। उनले २० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र, शिल्ड र मेडल प्राप्त गरे।
कायकिङतर्फ कृष्ण खड्काले ३० मिनेट ५४ सेकेन्डमा दूरी पार गरेर दोस्रो स्थान हासिल गरे। उनले १० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र, शिल्ड र मेडल पाए।
कायकिङतर्फ विजय माझीले ३१ मिनेट ०३ सेकेन्डमा दूरी पार गरेर तृतीय स्थान हासिल गरे। उनले ५ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र, शिल्ड र मेडल प्राप्त गरे।