कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा, राष्ट्र बैंकले लियो व्यवस्थापनको जिम्मा

काठमाडौँ।  गत साता नेपाल राष्ट्र बैंकले पुष १० मा कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गरेको प्रति लगानीकर्ताहरूले आपत्ति जनाएका छन्।

नेपाल राष्ट्र बैंक सञ्चालक समितिको बैठकले कर्णाली डेभलपमेन्ट बैंकलाई न्यूनतम पुँजीकोष अनुपात कायम नगरेको, संस्थागत सुशासन कमजोर भएको, आर्थिक हिनामिनाको आशंका, कमजोर तरलता स्थितिका साथै संस्थाले भुक्तानी गर्नुपर्ने निक्षेप दायित्व पूरा गर्न नसक्ने कारण देखाएर समस्याग्रस्त संस्था घोषणा गरेको थियो।

सोही विषयलाई लिएर मंगलबार कर्णाली डेभलपमेन्ट बैंकका लगानीकर्ताहरूले भृकुटिमण्डपमा भेला भएर आफ्नो सेयरप्रति चासो देखाउँदै आपत्ति जनाएका हुन।

कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गरे पश्चात राष्ट्र बैंकले उक्त बैंकको व्यवस्थापनको जिम्मेवारी आफैँ लिएको छ।

राष्ट्र बैंकको विज्ञप्तिमा भनिएको छ, “नेपाल राष्ट्र बैंक सञ्चालक समितिको आज बसेको बैठकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ ख बमोजिम उक्त संस्थालाई ’समस्याग्रस्त संस्था’ घोषणा गर्ने निर्णय गरेको हो। साथै, अर्को व्यवस्था नभएसम्मका लागि सोही ऐनको दफा ८६ ग बमोजिम कर्णाली विकास बैंक लिमिटेडको व्यवस्थापन नेपाल राष्ट्र बैंकको नियन्त्रणमा लिइएको छ।” 

मंसिर ११ गते नै न्यूनतम पुँजीकोष अनुपात कायम नभएको र निष्क्रिय कर्जा अनुपात ४० दशमलव ८५ प्रतिशत रहेको लगायतका कारणले संस्थाको वित्तीय अवस्था समस्या उन्मुख देखिएपछि राष्ट्र बैंकले उक्त बैंकको थप निक्षेप संकलन र कर्जा प्रवाहमा रोक लगाएको थियो।

प्रतिक्रिया