काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना कार्डधारी तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताका लागि होटल तथा रिसोर्टमा विशेष छुट योजना सार्वजनिक गरेको छ। बैंकले आइएमई हस्पिटालिटी र इला कम्फर्ट एण्ड रिसोर्ट प्रा.लि.सँग सम्झौता गर्दै ग्राहकलाई १५ प्रतिशतसम्मको छुट दिने योजना सुरु गरेको हो।
सम्झौताअनुसार, ग्लोबल आइएमई बैंकका डेबिट वा क्रेडिट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग एप ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ताहरूले आइएमई हस्पिटालिटी अन्तर्गत सञ्चालित होटल, रिसोर्ट र मौलाकाली केबलकारमा छुट पाउनेछन्। होटल तथा रिसोर्टहरूमा १५ प्रतिशतसम्म र केबलकार टिकटमा १० प्रतिशत छुट प्रदान गरिनेछ।
उक्त समझदारीमा बैंकका सहायक महाप्रबन्धक दिलिप पोखरेल र आइएमई हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत प्रसन्न अधिकारीले हस्ताक्षर गरेका हुन्।
आइएमई समूहले काठमाडौंको लाजिम्पाटस्थित ‘होटल ले हिमालय’ र ‘साके एण्ड फेङ रेस्टुरेन्ट’, बागलुङको ‘इला कम्फर्ट’, गैंडाकोटको ‘इला होटल एण्ड रिसोर्ट मौलाकाली’, पोखराको ‘लेकसाइट रिट्रीट’ जस्ता प्रख्यात होटल तथा रिसोर्टहरू सञ्चालन गर्दै आन्तरिक तथा बाह्य पर्यटकलाई स्तरीय सेवा दिँदै आएको छ।
ग्राहक हितलाई प्राथमिकता दिँदै विभिन्न समय सान्दर्भिक योजनाहरू ल्याउँदै आएको ग्लोबल आइएमई बैंक नेपालको सबैभन्दा ठूलो निजी वाणिज्य बैंक हो। बैंकसँग हाल ३५२ शाखा, ३८५ एटीएम, १५८ शाखारहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन काउण्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालय छन्।
बैंकले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्टताको पहिचान बनाउँदै आएको छ। ग्लोबल फाइनान्सको ‘बेष्ट बैंक अवार्ड २०२४’ र ‘युरो मनी अवार्ड फर एक्सेलेन्स २०२४’ बाट सम्मानित यस बैंकले देशभर तथा विदेशबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आएको छ।
ग्राहक सुविधालाई निरन्तरता दिँदै बैंकले आगामी दिनहरूमा थप आकर्षक अफरहरू ल्याउने प्रतिबद्धता जनाएको छ।