Second National Horticulture Expo to Be Held at Bhrikuti mandap from Chaitra 28 to 31

काठमाडौँ । दोस्रो नेशनल हर्टिकल्चर एक्स्पो २०८१ यही चैत २८ गतेदेखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ। मेलामा देशभरिबाट पुष्प, फलफूल, कृषि वन तथा जडिबुटी नर्सरीका ७०० भन्दा बढी प्रजातीका बोटबिरुवा प्रदर्शन तथा विक्री वितरणको लागि राखिनेछ। साथै मलखाद, अर्गानिक र रासायनिक विषादी, विउ विजन, गमला, औजार तथा कृषि प्रविधिसमेतका सामग्रीका स्टलहरू रहनेछन्।

८६ वटा स्टल रहने मेलामा ७० व्यवसायिक स्टल, ३ वटा फुड स्टल, ८ अफिसियल स्टल र ५ प्रतिस्पर्धाका स्टल रहने आयोजकले जानकारी दिएको छ।

मेलाका संयोजक तथा वरिष्ठ उपाध्यक्ष रविन कुमार गौतमका अनुसार, नर्सरी व्यवसाय गर्न इच्छुक नयाँ उद्यमी, अध्ययन अनुसन्धानमा संलग्न व्यक्तिहरू तथा जिज्ञासुहरूका लागि मेला साझा मंच बन्नेछ।

उनले भने, मेलामा ५१ हजार भन्दा बढी अवलोकनकर्ताले सहभागिता जनाउने र करिब १ करोड २५ लाख रुपैयाँभन्दा बढीको आर्थिक कारोवार हुने अपेक्षा गरेका छौं।

सर्वसाधारणका लागि प्रवेश शुल्क प्रतिव्यक्ति रु. १०० र विद्यार्थी तथा जेष्ठ नागरिकका लागि रु. ५० तोकिएको छ।

नर्सरी व्यवसायीहरूको हौसला वृद्धि गर्न मेलामा प्रतिस्पर्धा आयोजना गरिनेछ र शिल्ड, नगद पुरस्कार तथा प्रमाणपत्रद्वारा विजयीहरूलाई सम्मान गरिनेछ। मूल्यांकनका लागि कृषि वागवानी, वनस्पति, माटो तथा वातावरण विज्ञहरूको ३ सदस्यीय मूल्यांकन समिति गठन गरिएको छ।

मेला अवधिमा दिर्घकालीन क्रियाशील नर्सरी व्यवसायीलाई सम्मान गरिनेछ। त्यस्तै स्वदेशमै उत्पादन गरि आत्मनिर्भरता विकासमा योगदान पुर्याएका एक व्यवसायीलाई ‘वर्षको विशेष उत्पादनमुखी नर्सरी व्यवसायी सम्मान’ प्रदान गरिने संयोजक गौतमले जानकारी दिए।

यसै अवसरमा कृषकको पक्षमा कलम चलाइरहेका दुई जना कृषि सञ्चारकर्मीहरूलाई पनि नगद, दोसल्ला तथा प्रमाणपत्रसहित प्रमुख अतिथिबाट सम्मान गरिने कार्यक्रम रहेको छ।

गौतमले भने, संस्थाको यस कदमबाट कृषि र कृषकका लागि समर्पित सञ्चारकर्मीसँग सहकार्य र सहयात्रा अझ सशक्त हुने विश्वास गरेका छौं।

मेला नर्सरी व्यवसायी संघ, नेपालको आयोजनामा हुँदैछ। पुष्प विकास केन्द्र, वनस्पति विभाग, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, कृषि विभाग पुल्चोक र बागमती प्रदेशको पशुपंक्षी विकास मन्त्रालय सह–आयोजक संस्थाहरू हुन्।

सहयोगी संस्थाहरूमा ए.जि.ए. एग्रो, कुमारी फ्लोरा फार्म, गौतम नर्सरी, सलोम एग्रीकल्चर, ग्रिस्मा नर्सरी, सृजना एग्रीकल्चर प्रा.लि., ए.बि.टी मोटर्स रहेका छन्। मेला स्थलको सजावटका लागि उदय गार्डेन सेन्टर प्रा.लि. र एभरेष्ट फ्लोरिकल्चर एण्ड भेजिटेबल फार्मले सहयोग गर्नेछन्।

मेलाले आर्थिक मन्दीका कारण सुस्ताएको हरित अर्थतन्त्रमा लागेका उद्यमीहरू, नयाँ रोजगारी सिर्जना गर्ने सपना बोकेका नव उद्यमी, तथा अध्ययन–अनुसन्धान गरिरहेका व्यक्तिहरूलाई उत्साहित र प्रेरित गर्ने विश्वास आयोजकले व्यक्त गरेको छ।

नर्सरी व्यवसायको विकास, स्वच्छ वातावरण र रोजगारी प्रवर्द्धनको उद्देश्यले २०८० असोज १५ मा नर्सरी व्यवसायी संघ, नेपाल औपचारिक रूपमा स्थापना गरिएको हो। संघले यसअघि ३ वटा एक्स्पो, नर्सरी बाटिका, वृक्षारोपण तथा रक्तदान कार्यक्रम जस्ता सामाजिक कार्यहरूमा समेत सक्रियता देखाएको छ।

प्रतिक्रिया