काठमाडौँ। इन्डोनेसियाको टुरिजम तथा क्रियटिभ इकोनोमी मन्त्रालयका पर्यटन उपमन्त्री नी माडे आयु मार्थिनी (Ni Made Ayu Marthini) र नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीबीच दुई देशको पर्यटन प्रवर्द्धन र आपसी सहकार्यका विषयमा शुक्रबार नेपाल पर्यटन बोर्डमा विशेष छलफल सम्पन्न भएको छ।
उक्त भेटघाटमा दुवै देशले पर्यटन प्रवर्द्धनमा मिलेर काम गर्न, दीर्घकालीन सहकार्यका अवसरहरू खोज्न, र पर्यटन क्षेत्रमा थप प्रगति गर्न प्रतिबद्धता व्यक्त गरेका छन्।
नेपालको पर्यटनले मोहित: इन्डोनेसियाली उपमन्त्री भेटको अवसरमा इन्डोनेसियाली उपमन्त्री नी माडे आयु मार्थिनीले नेपालको कला, संस्कृति, र प्राकृतिक सुन्दरताबाट आफू गहिरो प्रभावित भएको बताउँदै, नेपालको पर्यटन प्रवर्द्धनका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने आश्वासन दिइन्।
"नेपाल साँच्चै सुन्दर देश हो। यहाँको आतिथ्यता र जनताको व्यवहारले मलाई मोहित बनाएको छ। मैले नेपालमा पर्यटनको अपार सम्भावना देखेकी छु, र यसलाई प्रवर्द्धन गर्न म मेरो तर्फबाट सबै प्रयास गर्नेछु," उपमन्त्रीले भनिन्।
दीपकराज जोशीको धारणा: सौहार्दपूर्ण सम्बन्ध र भविष्यको सहकार्य नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले नेपाल र इन्डोनेसियाबीचको सौहार्दपूर्ण सम्बन्धलाई स्मरण गर्दै, दुवै देशबीचको पर्यटन सहकार्यलाई अझ बलियो बनाउँदै अगाडि बढ्नुपर्नेमा जोड दिए।
"नेपाल र इन्डोनेसियाबीच विगतमा पनि सहकार्य रहेको थियो। हामीले त्यस सहकार्यलाई निरन्तरता दिन चाहन्छौं, जसले नेपालको पर्यटनलाई थप प्रोत्साहन दिन सकोस्," जोशीले बताए।
उनले दुवै देशका पर्यटन व्यवसायी (बीटुबी) बीच प्रत्यक्ष सम्पर्क र सिधा तथा नियमित उडानका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्न सकिने र त्यसबाट आर्थिक लाभ लिन सकिने बताए।
इन्डोनेसियाली राजदूतको सुझाव: पर्यटन बोर्डबीच सहकार्यको आवश्यकता सो अवसरमा नेपाल र बंगलादेशका लागि इन्डोनेसियाका राजदूत हेरु हर्तान्नो सुबोलो (H.E. Heru Hartanto Subolo) ले नेपाल र इन्डोनेसियाका पर्यटन बोर्डहरूबीचको सहकार्यलाई अझ सशक्त बनाउनुपर्ने धारणा राखे। उनले दुवै देशका लागि लाभदायक हुने प्रवर्द्धनात्मक कार्यक्रमहरू सञ्चालन गर्न सकिने सुझाव दिए।
उक्त भेटमा नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक नन्दिनी लाहे थापा, निमित्त बजार निर्देशक लक्ष्मण गौतम, पर्यटन बोर्डका अधिकारीहरू, र इन्डोनेसियाको राजदूतावासका कर्मचारीहरूको उपस्थिति रहेको थियो।