काठमाडौँ। नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको ३७औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। कम्पनीले असार ५ गते अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा साधारण सभा सम्पन्न गरेको हो।
सभा कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाटमा सम्पन्न भएको हो। साधारणसभाले हाल कायम चुक्तापुँजीको १० प्रतिशतका दरले हुन आउने ५२ करोड १२ लाख १३ हजार ३०८.२० रुपैयाँ बराबरको नगद लाभांश र ५ प्रतिशतका दरले हुन आउने २६ करोड ६ लाख ६ हजार ६५४.१० रुपैयाँ बराबरको बोनस शेयर वितरणको प्रस्ताव पारित गरेको छ।
यसैगरी शेयर र नगद लाभांशमा लाग्ने कर प्रयोजनका लागि ०.७८९४७३ प्रतिशतका दरले ४ करोड ११ लाख ४८ हजार ४१८.७० रुपैयाँ लाभाशंबाट समायोजन गर्ने प्रस्ताव समेत साधारणसभाले अनुमोदन गरेको छ।
कम्पनीको हालको चुक्तापुँजी ५ अर्ब २१ करोड २१ लाख ३३ हजार ८२ रुपैयाँ छ। बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापुँजी ५ अर्ब ४७ करोड २७ लाख रुपैयाँ नाघ्नेछ।
साधारणसभाका लागि कम्पनीको चुक्तापुँजी वृद्धि गरी स्वीकृत प्रबन्धपत्रको दफा ८ (ग) तथा नियमावलीको नियम ४ (ग) थप संशोधन गर्ने, कम्पनी ऐन २०६३ को दफा १०५ (१) ग बमोजिम आर्थिक वर्ष २०८०.८१ मा भएको खर्च अनुमोदन गरेको छ। संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेख गर्ने निकाय वा नियमनकारी निकायवाट कुनै फेरबदल गर्न निर्देशन प्राप्त हुन आएमा सो अनुसार गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव माथि पनि छलफल गरेको छ।
यसका साथै साधारणसभाले सञ्चालक समितिको कुल ५ जना सञ्चालकको निर्वाचन गरेको छ। संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकको निर्वाचन गरेको छ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गरेको छ। सोही सभाले चालु आर्थिक वर्ष २०८१.८२ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव समेत अनुमोदन गरेको छ।