काठमाडौँ। एक महिनाभित्र सिन्धुपाल्चोक र रसुवामा सञ्चालित विभिन्न जलविधुत आयोजनाबाट उत्पादन भएको २७०.३ मेगावाट विधुत राष्ट्रिय ग्रिडमा जोडिने भएको छ।
लामो समयदेखि विवाद रहँदै आएको सिन्धुपाल्चोकको मध्य भोटेकोशी जलविधुत आयोजनाको १०२ मेगावाट तथा रसुवाको रसुवागढी जलविधुत आयोजनाको उत्पादित १११ मेगावाट, माथिल्लो साञ्जेनको १४.८ मेगावाट र साञ्जेन जलविधुत आयोजनाको ४२.५ मेगावाट विधुत एक महिनाभित्र राष्ट्रिय प्रसारण लाइनमा जडान गर्न लागिएको हो।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री खड्काले आज रसुवाका विभिन्न जलविधुतआयोजना, प्रसारण लाइन तथा सब स्टेसनको स्थलगत निरीक्षण गर्दै निर्माण ढिला हुँदा दैनिक करोडौँ बराबरको नोक्सानी भएकाले तीव्र गतिमा निर्माण सम्पन्न गर्न निर्देशन दिए।
नुवाकोटको पैरेबेंसीमा निर्माण भएको त्रिशूली थ्री बी हब २२०/१३/३३ केभी (३२० एमभीए) क्षमताको सब स्टेसन र रसुवाको आमाछोदिङ्मो गाउँपालिका–४ स्थित थम्बुचेतमा निर्माण भएको चिलिमे हव २२०/१३२/३३ केभी (३२० एमभीए) क्षमताको सब स्टेसन र २८ किलोमिटर चिलिमे/त्रिशूली २२० केभी प्रसारण लाइनको काम समयमा सम्पन्न नहुँदा उत्पादित विधुत खेर जाने अवस्था रहेको उनले बताए।
रसुवा र नुवाकोटका विभिन्न आयोजनाबाट उत्पादित विधुत त्रिशूली थ्री बी हब २२०/१३२/३३ केभी (३२० एमभीए) क्षमताको सवस्टेशनबाट विधुत काठमाडौँको मातातीर्थ सब स्टेसनमा पुर्याइनेछ।
चिलिमेदेखि त्रिशूली हबसम्मको २८ किलोमिटरको प्रसारण लाइनमध्ये २० किलोमिटरको डबल सर्किट लाइन (५१ वटा टावर) र आठ किलोमिटरको चार सर्किट लाइन (२४ वटा टावर) छन्। चार सर्किट लाइन रहेको आठ किलोमिटर टावरमा निर्माणाधीन अपर त्रिशूली एक (२१६ मेगावाट) बाट उत्पादन हुने विधुतलाई त्रिशूली थ्री बी हबसम्म जोडी राष्ट्रिय प्रसारण ग्रीडमा विधुत प्रवाह गरिनेछ।
प्रसारण लाइनका लागि आवश्यक ७५ वटै टावरको फाउण्डेसन निर्माण भए पनि हाल त्रिशुली थ्रि वी हवको छेउमा ९६०० मिटर०, मैलुङबेंसी (१२३५ मिटर) र हाकु (१४०० मिटर) मा तार तान्ने काम भइरहेको छ ।
मन्त्री खड्काले आवश्यक जनशक्ति थप गरेर भए पनि प्रसारण लाइन निर्माणलाई २ हप्ताभित्र सम्पन्न गरी सम्बन्धित जलविधुतआयोजनाको टेस्टिङ कमिसनिङसमेत सम्पन्न गर्न निर्देशन दिए।