9851314933 | info@gharjagganews.com

रातो इँटा र एएसी ब्लकमा कुनको आयु कति हुन्छ?

काठमाडौँ।  माटोबाट बनेको रातो इँटा परापूर्वदेखी नै प्रयोग भइरहेको छ। हाम्रा हजारौं वर्ष पुराना मठमन्दिर र पुरातात्विक सम्पदाहरू उत्खनन् गर्दा पनि रातो इँटा प्रयोग भएको भेटिन्छ।

अहिले पनि आवासीय घर, भवन, अपार्टमेन्ट, उद्योग, मठमन्दिर निर्माणमा रातो इँटाको प्रयोग गरिँदै आएको छ। तर, एसएसी ब्लक आधुनिक निर्माणको सामाग्री हो, जुन प्रयोगमा आउन थालेको दशक पनि भएको छैन। 

प्रविधिको बढ्दो विकाससँगै मानिसहरू वातावरणमैत्री निर्माण सामाग्रीमा जोड दिन थालेको देखिन्छ। यसको नतिजा एएसी ब्लक हो, जुन रातो इँटाको विकल्पको रूपमा आएको छ।

एएसी ब्लक रातो इँटाभन्दा हलुका मात्र छैन्, मूल्य पनि करिब २५ प्रतिशतसम्म कम पर्ने व्यवसायीहरू बताउँछन्। नेपालमा एउटा रातो इँटाको मूल्य १५ देखि २० रूपैयाँ पर्छ। चार इन्च मोटाइको एउटा एएसी ब्लकको मूल्य १२५ देखि १३५ रूपैयाँसम्म पर्छ। चार इन्‍च मोटो एउटा एएसी ब्लक ९ वटा रातो इँटा बरारबर हुन्छ। 

आजकल आरसीसी संरचना निर्माणमा वाल लगाउन एएसी ब्लकको प्रयोग गर्ने प्रचलन बढ्दो छ। एएसी ब्लकको वजन हलुका हुन्छ। तर, आम मानिसलाई यी दुई इँटामा कसको आयु धेरै हुन्छ भन्ने द्धिविधा रहन सक्छ। यसमा प्रष्ट हुनका लागि यी दुबै प्रकारका इँटाको बारेमा पर्याप्त जानकारी लिन आवश्यक देखिन्छ।

एएसी ब्लक बिल्कुलै नयाँ र आधुनिक प्रविधीको निर्माण सामाग्री हो। यो दक्षिण–पूर्वी एसियामा प्रयोगमा आउन थालेको एक दशक पनि पुगेको छैन। तर, रातो इँटाको प्रयोग हजारौं वर्ष अघिदेखि हुँदै आइरहेको छ। 

रातो इँटा धेरै पहिलेदेखि प्रयोग हुँदै आएको निर्माण सामाग्री हुनाले यससँग सम्बन्धित विभिन्न अध्ययन, अनुसन्धान, अनुभव र नतिजा हामीलाई थाहा छ। तर, एएसी ब्लक केहि वर्षदेखि मात्र प्रयोगमा आउन थालेको हुनाले पूर्ण नतिजा निश्चित हुन बाँकी छ। 

रातो इँटाले बनेका धेरै प्राचिन सम्पदा, पुराना भवनहरू जुन सयौं वर्षअघि बनेका थिए, ती अहिले पनि उस्तै देख्न सकिन्छ।  तसर्थ यो दिगो हुनुका साथै यसको आयु लामो रहन्छ भन्नेमा कुनै द्धिविधा नै भएन। एएसी ब्लकको सन्दर्भमा भने यसको प्रयोग गरी बनेका संरचनाहरू धेरै उमेरका नभएकोले यसको आयुबारे अहिल्यै यसै भन्न सकिने अवस्था छैन। एएसी प्रविधिका इँटा सय वर्षसम्म टिक्ने प्रारम्भिक दाबी रहेको छ।

रातो इँटा माटोबाट बनाइन्छ। यी इँटा भट्टामा पोलेर तयार पारिन्छ। जसले रातो इँटा लामो समयसम्म टिकाउ हुने विश्वास छ। एएसी ब्लकमा बिस्तारै रासायनिक प्रतिक्रिया हुन्छ। तुलनात्मक हिसाबले एएसी ब्लकको दाजोमा रातो इँटाको आयु लामो हुन्छ। यसको अनुमानित आयु ५०० वर्षसम्म हुने बताइन्छ। 

यी दुई बिचको आयु वालको डिजाइन, ज्वइन्ट लगायतमा निर्भर रहन्छ।

रातो इँटाको घनत्व उच्च हुन्छ भने यो उत्पादनका लागि प्राकृतिक माटो चाहिन्छ। यसरी रातो इँटाको निरन्तर उत्पादनले प्रकृतिमा सोझै असर पर्न जान्छ। माटोमा ह्रास आई भू–क्षयको सम्भावना पनि बढ्छ। यसैले यो वातावरण मैत्री होइन। आरसीसी संरचना निर्माणमा धेरै भार वहन गर्नुपर्ने वालहरूमा रातो इँटाको तुलनामा एएसी ब्लकको प्रयोग उचित हुन्छ। 

एएसी ब्लकहरू हलुका वजनका हुन्छन्। यसको उत्पादनको लागि प्राकृतिक माटोको आवश्यकता पर्दैन। हलुका वजन हुने भएकोले अग्ला संरचना निर्माणमा उपयुक्त हुन्छ। यसले वातावरणबाट कम तापक्रम सोस्ने भएकोले उर्जा संरक्षणमा पनि टेवा पुर्याउँछ। 

अनुमानित आयु १०० वर्ष रहेकोले आवासीय घरहरूमा एएसी ब्लकको प्रयोग गर्नु उचित हुने निर्माण व्यवसायी बताउँछन्। आरसीसी प्रविधिको आयु पनि अनुमानित सय वर्ष हुन्छ। 

माटोको रातो इँटाको तुलनामा एएसी ब्लकको आकार पनि ठूलो हुने भएकोले कम संख्याको प्रयोगले वाल लगाउन सकिन्छ, जसले गर्दा लागत पनि कम पर्न आउँछ। हामीले इँटा वा एएसी ब्लकको आयु हेरेर सम्पूर्ण घरकै आयु नै त्यति हुन्छ भन्न सकिदैन। घरको आयु इँटा वा एएसी ब्लकले मात्र निर्धारण गर्दैन। 

घरको सम्पूर्ण भौतिक संचरना निर्माणमा प्रयोग हुने अन्य निर्माण सामाग्रीको गुणस्तर, आयु र बनावटले समग्र घरको आयु निर्धारण गर्ने हो। एएसी ब्लकको प्रयोग गर्नाले लागत, समय र पर्यावरण सबैलाई बचाउन सकिन्छ।

प्रतिक्रिया