युनाइटेड अजोड इन्स्योरेन्सको वार्षिक साधारणसभा आह्वान, के के छन् एजेण्डा?

काठमाडौँ।  युनाइटेड अजोड इन्स्योरेन्सले आफ्नो ३१ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।

कम्पनीको सञ्चालक समितिको ६२औँ बैठकले वार्षिक साधारणसभा आगामी असार ३० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौँको भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेट एन्ड इभेन्टमा बिहान १०ः३० बजेबाट सुरू हुने जनाइएको छ।

सभाले गत आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजी २ अर्ब १० करोड रुपैयाँको कुल १०.५२६३ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश छन्।

सभाले बोनस शेयर वितरण पछि कायम हुने चुक्तापुँजी २ अर्ब ३१ करोड रुपैयाँको १० प्रतिशत हकप्रद जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसअघि कम्पनीले बोनस शेयर घोषणा गर्नुअघि हाल कायम चुक्तापुँजी २ अर्ब १० करोड रुपैयाँको १५ प्रतिशतले हुन आउने हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव साधारणसभामा लैजाने तयारी गरेको थियो।  तर, बोनस शेयर वितरणपछि कम्पनीले हकप्रद शेयरको आकार १० प्रतिशतमा झारेको हो।

हकप्रद शेयर जारीपछि कम्पनीको चुक्तापुँजी २ अर्ब ५४ करोड १० लाख रुपैयाँ कायम हुनेछ। नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीहरुको न्यूनतम चुक्तापुँजी २ अर्ब ५० करोड रुपैयाँ तोकेको छ।

यसैगरी सभाले नियमनकारी निकायबाट कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा कुनै फेरबदल गर्न निर्देशन प्राप्त भएमा सोहीबमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव अनुमोदन गर्नेछ।

सभामा सञ्चालकहरूको नियुक्ति अनुमोदन गर्नेछ। सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको आर्थिक प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि अनुमोदन गर्नेछ।

वार्षिक साधारणसभा र लाभांश प्रयोजनार्थ कम्पनीले असार १९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असार १९ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरूमात्रै यस कम्पनीको लाभांश पाउन र सभामा भाग लिन पाउने छन्।

प्रतिक्रिया