शुक्लाफाँटामा एक हजार चार सय २५ बिघा जग्गा नापजाँच

काठमाडौँ।  शुक्लाफाँटा नगरपालिकाका अव्यवस्थित बसोवासीलाई जग्गाको स्वामित्व प्रदान गर्न १ हजार ९ सय ३०.९८ हेक्टर (१ हजार ४ सय २५ बिघा) जग्गा नापजाँच गरिएको छ। 

नगरपालिकाको भूमि सेवा केन्द्रका अनुसार नगरपालिका–१, २, ३, ९ र १२ नम्बर वडामा जग्गा नापजाँच गरिएको हो। 

वडा नं १ मा दुई हजार आठ सय ५० कित्ता जग्गाको तीन सय ५० दशमलव ५८ हेक्टर (पाँच सय १८ बिघा) नापजाँच गरिएको छ।

वडा नं २ मा १ हजार ५ सय ५० कित्ता जग्गाको १ सय ९४ दशमलव ८३ हेक्टर (दुई सय ८७ विघा), वडा नं ३ को छ सय ४० कित्ता जग्गाको (४ दशमलव ३१ हेक्टर (एक सय ३९ विघा), वडा नं ९ को १ हजार १ सय कित्ताको एक सय २६ दशमलव ७७ हेक्टर ९एक सय ८७ बिघा) र वडा नं १२ को २ हजार १ सय ७६ कित्ताको एक सय ९९ हेक्टर (२ सय ९४ बिघा) जग्गा नापजाँच गरिएको छ।

 वडा नं ५ मा अपूरै रहेकोमा जग्गा नापजाँच पूरा गरी ८३ परिवारलाई जग्गाधनी पूर्जा वितरण गरिएको नगरपालिकाले जनाएको छ। आयोगले नापजाँच स्थगित गर्दा केही महिनादेखि नापजाँच हुन नसकेको नगरपालिकाले जानकारी दिएको छ।

नगरपालिकाका अनुसार विगतमा भूमि आयोगबाट भएका अधुरा जग्गा सम्बन्धी कामको फिल्ड भेरिफिकेसन केही पूरा भएको र अझै केही हुन बाँकी रहेकाले नयाँ आयोग गठन भई कार्य सञ्चालन भएमा जग्गा नापजाँचसँगै अधुरा काम पनि अगाडि बढाउइने छ।

नगरपालिकाका १२ वटै वडाका ११ हजार चार सय ८९ अव्यवस्थित बसोबासीले जग्गा नापजाँचका लागि निवेदन दिएका छन्। बसोबासका लागि निवेदन दिनेमा भूमिहीन दलित एक सय ९३ र भूमिहीन सुकुम्वासी एक सय ५४ छन। 

प्रतिक्रिया