काठमाडौं | तेन्जिङ नोर्गे शेर्पा ओपन क्लाइमिङ कम्पिटिशनको दोस्रो संस्करण आगामी जनवरी २९ र ३० तारिख (माघ १६ र १७ गते) आयोजना हुने भएको छ। यूएस नेपाल क्लाइम्बर एशोसिएसन र नेपाल नेशनल माउन्टेन गाइड एशोसिएसनको संयुक्त आयोजनामा हुने यो प्रतियोगिता पर्वतारोहण खेलको प्रवर्द्धन गर्न र साहसिक पर्यटनलाई प्रोत्साहन गर्न आयोजित हो।
प्रतियोगिता दुई चरणमा सम्पन्न हुनेछ। पहिलो दिन क्वालीफाइङ राउन्ड हुनेछ भने दोस्रो दिन सेमिफाइनल र फाइनल खेल हुनेछ। सेमिफाइनल र फाइनल बौद्धस्थित क्रिम्पान्जी एडभेन्चर हबमा आयोजना गरिने आयोजक संस्थापक अध्यक्ष सेराप जाङ्बु शेर्पाले जानकारी दिए।
प्रतियोगितामा भाग लिन १२ वर्षभन्दा माथिका सहभागीले ५ सय रुपैयाँ शुल्क तिर्नुपर्नेछ। आयोजकका अनुसार पुरुष र महिलाका लागि छुट्टाछुट्टै प्रतिस्पर्धा हुनेछ।
पुरुष र महिलातर्फ पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने विजेताहरूलाई क्रमशः ४५ हजार, ३५ हजार, र १५ हजार नगद पुरस्कार प्रदान गरिनेछ। प्रतियोगितामा पुरुषतर्फ ४० देखि ४५ जना र महिलातर्फ २० देखि २५ जना सहभागी हुने अपेक्षा गरिएको छ।
नेपाल नेशनल माउन्टेन गाइड एशोसिएसनका महासचिव पिम्बा तेन्जिङ लामाका अनुसार यो प्रतियोगिता तेन्जिङ नोर्गे शेर्पाको साहस र योगदानलाई सम्मान गर्दै आयोजित भएको हो। कार्यक्रमले आरोहण संस्कृति र सौहार्दताको उत्सव मनाउने उद्देश्य राखेको छ।
गत वर्ष पहिलो पटक नेपालमा आयोजित टप रोप एडिसन प्रतियोगिताको सफलताले युवाहरूमा पर्वतारोहणप्रति रुचि बढाएको आयोजकले बताए। संस्थापक अध्यक्ष शेर्पाले भने, “यस पटक दोस्रो संस्करण नेपालमै आयोजना गर्दा साहसिक पर्यटनको प्रवर्द्धनमा थप योगदान हुने विश्वास लिएका छौं।”
यूएस नेपाल क्लाइम्बर एशोसिएसन र नेपाल नेशनल माउन्टेन गाइड एशोसिएसनले बर्सेनि पालैपालो प्रतियोगिता आयोजना गर्ने सहमति गरेका छन्। प्रविधिक व्यवस्थापन नेपाल नेशनल माउन्टेन गाइड एशोसिएसनले गर्नेछ।
यो प्रतियोगिता पर्वतारोहण खेलमा रुचि राख्नेहरूलाई थप प्रोत्साहन दिन र नेपालमा साहसिक पर्यटनको विकास गर्न महत्वपूर्ण मानिएको छ।