काठमाडौँ (रासस) । केही महिना अगाडिसम्म बागलुङको काठेखोला गाउँपालिकाका महिला फुसर्दिला थिए । तर अहिले उनीहरुलाई अचार बनाउन भ्याइनभ्याइ छ । महिलालाई आत्मनिर्भर बनाउन अचार बनाउने तालिम दिएपछि उनीहरु व्यवसायिक बन्न थालेका छन् । गाउँपालिका र स्थानीय स्तरमा उत्पादन हुने तरकारी तथा फलफूलबाट महिलालाई अचार बनाउने तालिम दिइएको हो ।
गाउँपालिका र नेपाला गाजा डेभलपमेन्ट फाउण्डेशनको सहकार्यमा चार वटा वडाका करिब २०० महिलालाई तालिम दिएपछि अहिले उनीहरु व्यवसायिक रुपमा अचार बनाउन थालेका छन् ।
काठेखोला गाउँपालिका–३ धम्जा, वडा नम्बर ५ बिहुँ, वडा नम्बर ७ रेश र वडा नम्बर ८ लेखानीका महिलालाई तालिम दिइएको हो ।
सामाजिक परिचालिका यमुना बस्याल भन्नुहुन्छ, नेपाला गाजा डेभलपमेन्ट फाउण्डेशन अचार बनाउने तालिम लिएपछि अहिले महिलाहरुले व्यवसायिक रुपमा अचार उत्पादन गर्न थालेका छन् । पहिले यतिकै खेर जाने मुला, स्कुस, खुर्सानी लगायतका तरकारीजन्य वस्तुलाई अहिले स्वादिष्ट अचार बनाउन थालेका छन् । अचार उत्पादनबाट आत्मनिर्भर बन्न सक्ने उनीहरुले अपेक्षा राखेका छन् ।
स्थानीय स्तरमा उत्पादन भएका अकबरे खुर्सानी, मुला, गाजर, लसुन, अदुवा, कागति, करेला लगायतका तरकारी जन्यवस्तुबाट अचार बनाउन सिकाएको थियो ।
सीपले महिलालाई उद्यमी बनाएको छ । बसाइँसराइले उजाडिदै गएको गाउँका महिलाहरु आयआर्जनसँग जोडिन थाल्नु सुखद हो । सरोकारवाला निकायले उनीहरुलाई थप प्रोत्साहान गर्न जरुरी देखिन्छ ।