वर्ल्ड रिसाइक्लिङ डेमा खालिसिसि र कोका–कोला बेभरेजेज नेपालद्वारा WOW परियोजनाको सफलता घोषणा

काठमाडौं । वर्ल्ड रिसाइक्लिङ डेको अवसरमा खालिसिसि र कोका–कोला बेभरेजेज नेपालले WOW (Wellbeing Out of Waste) परियोजनाको एक वर्ष पूरा भएको घोषणा गरेका छन्। यस परियोजनाले नेपालमा फोहोर व्यवस्थापन, दिगो विकास, र महिला सशक्तीकरणमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको छ।

फेब्रुअरी २०२४ मा सुरू गरिएको WOW परियोजनाले १,४४,००० केजी PET बोतलहरू ल्यान्डफिलमा जानबाट जोगाई पुनः प्रयोगयोग्य स्रोतमा रूपान्तरण गरेको छ। यस परियोजनाअन्तर्गत बुढानीलकण्ठमा मटेरियल रिकभरी फ्यासिलिटी (MRF) स्थापना गरिएको छ, जहाँ फोहोर संकलन केन्द्रहरू, ट्रान्सफर स्टेसन, फुटसल ग्राउन्ड, रेस्टुरेन्ट लगायतका स्थानहरूबाट PET बोतल संकलन गर्ने काम भइरहेको छ।

MRF मा रहेको बेलिङ मेसिनको क्षमता प्रति दिन १ टन रहेको छ, जसले संकलित PET बोतलहरूलाई बन्डल बनाएर नवलपरासीस्थित PET रिसाइकलरमा पठाउने गर्दछ। उक्त प्लास्टिकलाई फ्लेक्समा परिणत गरेर पोलिएस्टर स्टेपल फाइबर जस्ता उत्पादनहरूमा रूपान्तरण गरिन्छ।

खालिसिसिका CEO अमुन थापाका अनुसार, यो परियोजना केवल फोहोर व्यवस्थापनको विषय होइन, यो सामाजिक समानता र दिगोपनको यात्राको सहयात्री पनि हो।

परियोजनाले महिला तथा फोहोर व्यवस्थापनमा संलग्न मजदुरहरूलाई सशक्त बनाउँदै फोहोरलाई अवसरमा बदल्ने अभियान अघि बढाएको छ। WOW परियोजनामा ८०% महिला संलग्न छन्, जसले ३५ महिलालाई फोहोर व्यवस्थापन क्षेत्रमा रोजगारीको अवसर प्रदान गरेको छ। साथै, ५० जना अनौपचारिक फोहोर संकलनकर्ताहरूलाई (खालिसिसि फ्रेन्ड्स) डिजिटल साक्षरता, बैंकिङ, गल्ली म्याप्स न्याभिगेसन, र सामाजिक सञ्जालको प्रयोगबारे तालिम प्रदान गरिएको छ।

बुढानीलकण्ठ नगरपालिकाका प्रवक्ता नवराज भट्टराईका अनुसार, “हामी ‘सफा बुढानीलकण्ठ पहल’ अन्तर्गत हरियाली र सफा सहर बनाउने लक्ष्यमा छौं। WOW परियोजना हाम्रो अभियानलाई मजबुत बनाउने महत्वपूर्ण कोसेढुंगा बन्ने विश्वास हामीले गरेका छौं।”

उनका अनुसार यस परियोजनाले सर्कुलर इकोनोमीलाई प्रवर्द्धन गर्दै बुढानीलकण्ठलाई फोहोरमुक्त बनाउन महत्वपूर्ण योगदान पुर्‍याउनेछ।

कोका–कोला बेभरेजेज नेपालका पब्लिक अफेयर्स, कम्युनिकेसन एन्ड सस्टेनेबिलिटी डाइरेक्टर स्नेह राजभण्डारीका अनुसार, “हामीले दिगो व्यापार अभ्यासमार्फत सकारात्मक परिवर्तन ल्याउने लक्ष्य राख्छौं। WOW परियोजना फोहोर व्यवस्थापन सुधार गर्ने र समुदायलाई सशक्त बनाउने हाम्रो साझा प्रतिबद्धताको प्रमाण हो।”

यस परियोजनाअन्तर्गत एमआरएफसँगै २० वटा संकलन केन्द्रहरू, खेलकुद केन्द्र, विद्यालय, कलेज, र सार्वजनिक कार्यालयहरू स्थापना गरिएका छन्, जसले फोहोर व्यवस्थापन र पुनः प्रयोग गर्ने बानीलाई प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ।

नेपालका युवाहरूलाई रिसाइकल गर्ने बानी बसाल्न प्रेरित गर्दै WOW परियोजनाले दीगो भविष्यको निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।

प्रतिक्रिया