काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नयाँ आर्थिक वर्षको बजेट र मौद्रिक नीतिबीच तालमेल हुनुपर्नेमा जोड दिनुभएको छ। शनिबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) द्वारा आयोजित पोस्ट बजेट छलफल कार्यक्रममा उहाँले यसबारे धारणा राख्दै बजेटले अपेक्षित नतिजा ल्याउन यी दुई नीतिबीचको सहकार्य अपरिहार्य रहेको बताउनुभयो।
अध्यक्ष ढकालले बजेटले निजी क्षेत्रलाई अर्थतन्त्रको प्रमुख प्रेरक शक्तिका रूपमा चिनाए पनि अझै पनि केही विषय छुटेको भन्दै पुनरावलोकनको आवश्यकता औंल्याउनुभयो। उहाँले भन्नुभयो, “बजेट तुलनात्मक रुपमा राम्रो आएको छ। तर निजी क्षेत्रका केही माग अझै छुटेका छन्, ती कुराहरुलाई अर्थमन्त्रीज्यूले पुनरावलोकन गर्नुपर्छ।”
खनिजजन्य र नदिजन्य स्रोतको उत्खनन, पर्यटन क्षेत्रलाई प्राथमिकता र वैकल्पिक ऊर्जा तथा विशेष आर्थिक क्षेत्रमा सहुलियतको व्यवस्था स्वागतयोग्य रहेको बताउँदै अध्यक्ष ढकालले भने, “टिडिएस र करले पर्यटन क्षेत्रमा लागत बढ्ने भएकाले सहजिकरण आवश्यक छ।”
कृषि, उद्योग, सूचना प्रविधि, र उत्पादनमूलक क्षेत्रमा बजेटको सकारात्मक प्रभाव पर्ने अध्यक्ष ढकालको भनाइ थियो। विदेशी लगानी सहजीकरणका लागि लगानी बोर्डलाई अधिकारसम्पन्न बनाइनु राम्रो भए पनि एकीकृत कानुन र प्रभावकारी संयन्त्र आवश्यक रहेको उहाँले बताउनुभयो।
बजेटमा उल्लेखित ६ प्रतिशतको आर्थिक वृद्धि सम्भव हुने अपेक्षा व्यक्त गर्दै अध्यक्ष ढकालले सुशासनको प्रत्याभूति पहिलो प्राथमिकता हुनुपर्नेमा जोड दिनुभयो। उहाँले सरकारको राम्रो निर्णयमा निजी क्षेत्र सधैं साथ रहने आश्वासन पनि दिनुभयो।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar