काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशको आर्थिक समृद्धि र विकासको नेतृत्व निजी क्षेत्रले गर्नुपर्ने धारणा राखेका छन्। महासंघको ५९औं वार्षिक साधारण सभा तथा उद्योग वाणिज्य दिवस २०८१ को उद्घाटन समारोहमा बोल्दै अध्यक्ष ढकालले निजी क्षेत्रलाई निर्वाध रूपमा काम गर्न दिने वातावरण सुनिश्चित गर्नुपर्नेमा जोड दिए।
अध्यक्ष ढकालले राजनीतिक दलहरूलाई अर्थतन्त्रप्रति साझा दृष्टिकोण बनाउने आह्वान गर्दै भने, "अर्थतन्त्रलाई कुनै वादले विथोल्नु हुँदैन, यसलाई सबैभन्दा माथि राख्नुपर्छ। समृद्धि भनेको सबैले अवसर पाउनु हो, त्यसका लागि पूँजी, बुद्धि, विवेक र सीपको लगानी आवश्यक छ।" उनले पूँजीको लगानी पछि उत्पादन बढाउँछ र त्यसले श्रम र सीपको माग पैदा गर्ने बताए।
उनले विगतमा सरकारको अत्यधिक सतर्कताका कारण बजार संकुचन भएको, र आजसम्म पनि बजारमा त्यसको असर देखिनेमाथि चिन्ता व्यक्त गरे। “सरकार र निजी क्षेत्र मिलेर प्रतिकूलतालाई अनुकूलता बनाउनतर्फ लाग्नुपर्छ,” उनले भने।
अध्यक्ष ढकालले हालको सुधार क्रम पर्याप्त नभएको उल्लेख गर्दै भने, “जबसम्म हामी आफ्नै देशमा मर्यादित र उच्च तलबसहितको रोजगारी सिर्जना गर्न सक्दैनौं, निराशालाई आशामा बदल्न सकिँदैन। अहिलेको निराशा त्यसकै परिणाम हो।”
विदेशी लगानीकर्ताले नेपालमा लगानी गर्न चाहेको स्पष्ट संकेत पाएको अनुभव सुनाउँदै अध्यक्ष ढकालले भारत, चीन र युएईमा सम्पन्न सम्मेलनहरूमा नेपालप्रति चासो बढेको बताएका छन्। अमेरिकाले नेपालका लागि निकै कम भन्सार दर तोकेकाले प्रतिस्पर्धी मुलुकको तुलनामा नेपालमा लगानी बढ्ने सम्भावना बलियो भएको पनि उनले बताए।
महासंघको पहलमा स्थापना भएको नेपाल डेभलपमेन्ट कम्पनीले साना पूँजीलाई एकत्रित गरी ठूला परियोजनामा लगानी गर्ने अवसर खोलिदिएको उल्लेख गर्दै ढकालले ७७ वटै जिल्लाबाट र प्रवासी नेपालीबाट पूँजी संकलन गरी त्यसको प्रभावकारी उपयोग गर्ने लक्ष्य राखिएको जानकारी गराए।
उनले चालु आर्थिक वर्षको नीति तथा बजेटलाई सुधारको प्रस्थान बिन्दु बनाउनु पर्नेमा जोड दिँदै, हालै सरकारले सुरु गरेको नीतिगत सुधार प्रयासहरू जस्तै आर्थिक सुधार आयोग गठन, ३५ भन्दा बढी कानुनको संशोधन, द्विपक्षीय लगानी सम्झौता तयार पार्ने कार्य, र उत्पत्तिको प्रमाणपत्र अनलाइन प्रणालीमार्फत उपलब्ध गराउने व्यवस्था स्वागतयोग्य रहेको बताए।
तर अध्यक्ष ढकालले निजी क्षेत्रलाई अझैसम्म सम्मानजनक स्थान नदिएकोप्रति चिन्ता व्यक्त गर्दै भने, “देशको ८६ प्रतिशत रोजगारी, ८० प्रतिशतभन्दा बढी राजस्व योगदान र ८१ प्रतिशत लगानी निजी क्षेत्रबाट भइरहेको भए पनि अझै पनि सम्मान, सुरक्षा र मर्यादाक्रमको अभाव छ।” उनले राज्यसँग यसका लागि कुनै लगानी नचाहिने तर सद्भाव आवश्यक रहेको स्पष्ट पारे।