तराई भूभागमा सामान्य देखि मध्यम वर्षा को सम्भावना

weather forecast

काठमाडौँ ।  मौसम पूर्वानुमान महाशाखा अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ केही उत्तरतिर र पश्चिमतर्फ नेपालको तराई नजिक अवस्थित रहेकाले आज देशभर सामान्यदेखि बढी वर्षा हुने सम्भावना छ। हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बदली रही केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ भने बाँकी भूभागमा आंशिकदेखि साधारणतया बदली छ। दिउँसो र राति दुबै समयमा हिमाली क्षेत्रमा केही स्थानमा, पहाडी क्षेत्रमा धेरै स्थानमा र तराई क्षेत्रमा थोरैदेखि धेरै स्थानमा मध्यम वर्षा हुने अनुमान गरिएको छ।

विशेषगरी कोशी, बागमती, गण्डकी र मधेश प्रदेशका पहाडी र तराई भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले नदी–नाला र खोला–खुल्सामा पानीको बहाव बढ्ने, बाढी तथा पहिरोको जोखिम बढ्ने देखिन्छ। त्यसैले प्रभावित हुन सक्ने क्षेत्रका बासिन्दा र यात्रुहरूले सतर्कता अपनाउन आग्रह गरिएको छ।

गण्डकी प्रदेशका तराई भूभागमा दिउँसो धेरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ भने राति पहाडी क्षेत्रमा मध्यमदेखि भारी वर्षा हुन सक्छ। लुम्बिनी प्रदेशमा हिमाल, पहाड र तराई तीनै भूभागमा दिउँसो र राति थोरैदेखि केही स्थानमा मध्यम वर्षा हुने देखिन्छ। कर्णाली प्रदेशमा हिमाली तथा पहाडी क्षेत्रमा दिउँसो केही स्थानमा र राति थोरै स्थानमा मध्यम वर्षा हुने पूर्वानुमान छ।

सुदूरपश्चिम प्रदेशमा पनि हिमाली, पहाडी तथा तराई भूभागमा दिउँसो र राति थोरै स्थानमा मध्यम वर्षा हुन सक्ने सम्भावना छ। समग्रमा, आज अधिकांश प्रदेशमा मौसम बदली रहने र वर्षाको प्रभाव देखिने भएकाले यात्रामा जानु अघि मौसम पूर्वानुमान अवश्य हेर्न तथा आवश्यक सावधानी अपनाउन मौसमविद्हरूको सल्लाह छ।

प्रतिक्रिया