आज बसन्त पञ्चमी मनाइँदै

काठमाडौँ। आज (सोमबार) विद्याकी देवी सरस्वतीको पूजा गर्दै श्रीपञ्चमी मनाइँदै छ। यस दिन विद्यार्थीले कापी, कलम र वाद्ययन्त्र आदिको पूजा गर्छन्। 

सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने भएकाले यस दिनलाई ‘वसन्तपञ्चमी’ भनिन्छ। ऋग्वेदमा वाग्देवीको नामले प्रसिद्धि पाएकी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने शास्त्रमा उल्लेख गरिएको पाइन्छ। “यसै कारण सरस्वती पूजालाई ठुलो महत्व दिइन्छ, भने आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास रहेको छ।

श्रीपञ्चमीका दिन विवाह, व्रतबन्ध, गुफा (सूर्य दर्शन) राख्ने र बेलविवाह (इही) जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नु पर्दैन भन्ने मान्यता छ। यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक, कान छेड्न पनि शुभ मानिन्छ।  काठमाडौँ उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित  नील सरस्वती, ललितपुरको लेले लगायतमा रहेका सरस्वतीका मन्दिरमा बिहानैदेखि पूजाआजा गरिन्छ। सरस्वतीलाई चढाइएको सात गेडा अक्षता निलेमा विद्या र बुद्धि स्फुरण भई विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास छ। यस अवसरमा हनुमानढोका दरबारमा वसन्त श्रवण गर्ने गरिन्छ।

प्रतिक्रिया