एएसी ब्रिकको प्रयोगबाट भवन बनाउने आकर्षण बढ्दो

काठमाडौं।  पछिल्ला वर्षमा व्यावसायिक तथा सरकारी निकायका भवनमा प्रयोग हुँदै आएको अटोक्लेभ एरेटेड कंक्रिट (एएसी ब्रिक)  को प्रयोग बढ्दै गएको छ। 

ठूला भवनमा समेत एएसी ब्रिक प्रयोग भइरहेको छ। एएसी ब्रिक उद्योगमा हाल नेपालमा ९ उद्योगले ५ अर्ब रूपैयाँ लगानीसमेत गरिसकेका छन्। मुख्य कच्चा पदार्थ सिमेन्ट र बालुवा प्रयोग गरेर एएसी ब्रिक/ब्लक बनाउने विभिन्न ९ वटा उद्योगले उक्त लगानी गरेका हुन्।

माटोबाट बनेको रातो इँटाको विकल्पको रूपमा उद्योगीहरूले एएसी ब्रिकलाई अघि सारेका छन्। १०० वर्षअघि युरोपमा काठका घर हुने र आगलागी हुँदा सबै नष्ट हुने भएपछि स्वीडेनमा एएसी ब्रिकको प्रयोग गरिएको थियो।

नेपालमा पनि यस्ता ब्रिकको प्रयोग विगत १० वर्षदेखि हुन थालेको छ। स्वीडेनबाट सुरू भएको एएसी ब्रिक बनाउँदा अधिकतम कच्चा पदार्थ सिमेन्ट र बालुवा प्रयोग हुन्छ। ब्रिक बनाउँदा सिमेन्ट र बालुवामा एक किसिमको केमिकल प्रयोग गरेर फुलाइने हुँदा त्यसको तौल हलुका हुन्छ।

९ वटा उद्योगबाट उत्पादन हुने ब्रिकमा ३ ओटा उद्योग थपिने क्रममा रहेका छन्। यी उद्योगको छाता संस्था एएसी ब्रिक उत्पादक संघले ब्रिकको उपयोगिता र किन आवश्यक छ, भन्ने विषयमा पहिलोपटक सम्मेलन गर्न लागेको छ। शुक्रबार संघले यस्तो सम्मेलनको आयोजना गर्दैछ। एएसी ब्रिकमा सिमेन्ट र बालुवाका साथै ८० प्रतिशत कच्चा पदार्थ स्वदेशी नै प्रयोग हुने उल्लेख गरिएको छ। यो रातो इँटाभन्दा फरक छ। इँटामा माटोको प्रयोग गरिन्छ। यसमा बालुवा र सिमेन्टकै प्रयोग हुन्छ।

रातो इँटाको विकल्पको रूपमा रहेको तर, कृषि उब्जाउ हुने माटोको प्रयोग नहुने वातावरणमैत्री, हलुका र निर्माणमा खर्चसमेत कम लाग्ने एएसी ब्रिक प्रयोग गरी गारो लगाउने नम्स गत मंसिर ६ गते स्वीकृत गरेको छ।

हाल स्वदेशमा एएसी ब्लकको कुल जडित क्षमता २ हजार २ सय घनमिटर प्रतिदिन रहेको छ। उक्त परिमाण वर्षमा ४५ करोड गोटा रातो इँटा बराबर हुन आउने संघले जनाएको गरेको छ।

नेपालमा विगत १० वर्षदेखि विभिन्न उद्योगहरूले फरकरफरक ब्राण्डमा एएसी ब्लक उत्पादन गरिरहेका छन्। एएसी ब्लक जर्मन प्रविधिमा आधारित हलुका, अग्नि, ध्वनि र ओसप्रतिरोधक, वातावरणमैत्री निर्माण सामग्री रहेको उल्लेख गरिएको छ।

यसका साथै नेपाल नापतौल तथा गुणस्तर विभागले पनि एएसी ब्लकलाई निर्माण सामाग्रीको रूपमा स्वीकृति दिएर नेपाल गुणस्तरसमेत निर्धारण गरेको छ। कतिपय उद्योगले गुणस्तर प्रमाणपत्र समेत पाइसकेको संघले जानकारी दिएको छ।

संघका अनुसार एएसी ब्रिकरब्लकवाट हुने निर्माण लागतमा बजारमा पाइने सामान्य रातो इँटा वा ब्लकको मुल्यको तुलनामा १० देखि १५ प्रतिशतसम्म कम लागत हुन्छ।

स्वदेशमा उत्पादित एएसी ब्रिक/ब्लक नेपालमा खपत भइ धेरै भएमा विदेशमा समेत निर्यात गर्न सकिने सम्भावना रहेको उल्लेख गरिएको छ। बजारमा अहिले एएसी ब्रिकरब्लकको हिस्सा ६ देखि ८ प्रतिशत रहेको उल्लेख गरिएको छ।

एएसी ब्रिक प्रयोग गरि बनाइएका भवन नेपाल राष्ट्र बैंक, वालुवाटार, सर्वोच्च अदालत (निर्माणाधिन), कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, मनिखेल अस्पताल, लाप्राक मोडल भिलेज, नोवल हस्पिटल, न्युटन हस्पिटल, पुष्पाञ्जली हस्पिटलका साथै जलविधुतका आयोजना काबेली -१, २, ३ र सुपर काबेली, लोअर ईरुखा हाइड्रोपावर, तनँहु हाइड्रो, सानीमा हाइड्रो बनाइएका छन्।

यस्तै संघका अनुसार होटल वारही ठमेल, म्यारियट होटल, वसेरा वुटिकमा पनि एएसी ब्रिक प्रयोग भएको छ। डाउनटाउन हाउजिङ, भुकम्पपछि पुनर्निर्माण भइरहेको पार्क होराईजन र उद्योगमा सुर्या नेपाल, पञ्चकन्यालगायतमा प्रयोग भएको उल्लेख गरिएको छ। 

प्रतिक्रिया