देशभरि बदलीको सम्भावना, केही स्थानमा वर्षा र हिमपातको पूर्वानुमान

weather forecast

काठमाडौं । हाल देशमा पश्चिमी वायूको साथै स्थानीय वायूको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अहिले बिहान देशभर आंशिक बदली देखिएको छ भने मौसम मुख्यतया सफा रहेको छ।

महाशाखाले बिहीबार देशभर बदली हुने पूर्वानुमान गरेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा दिउँसो मेघगर्जन तथा चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ। साथै, कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागहरूमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।

रातिको समयमा मधेसबाहेक सबै प्रदेशमा बदली रहने सम्भावना रहेको छ। विशेष गरी कोशी र कर्णाली प्रदेशका हिमाली भूभागहरूमा हिमपात हुन सक्ने अनुमान गरिएको छ।

महाशाखाका मौसमविद् गोविन्दकुमार झाका अनुसार पश्चिमी वायु र स्थानीय वायुको मिश्रणले देशका विभिन्न स्थानमा वर्षा गराइरहेको छ। साथै, प्रि-मनसुनी गतिविधि सक्रिय भएकाले अपराह्नतिर मेघगर्जनसहित वर्षा हुने तथा रातिको समयमा मौसम सामान्यतया सफा रहने उनले जानकारी दिए।

यसअघि बुधबार साँझ काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भएको थियो। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षा भएको महाशाखाले जनाएको छ।

गण्डकी प्रदेशमा वर्षा गराउने मौसमी प्रणाली विकसित भई कोशी प्रदेश भएर बाहिरिएकाले आज राति पानी पर्ने सम्भावना नरहेको महाशाखाले उल्लेख गरेको छ।

यसैबीच, विगत चार दिनदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा निरन्तर बदली भइरहेको छ। प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडानसमेत प्रभावित भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार बुधबार अपराह्न कम्तीमा आधा दर्जन आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरू प्रतिकूल मौसमका कारण कम भिजिबिलिटी हुँदा केही समय आकाशमै ‘होल्ड’ भएका थिए।

प्रतिक्रिया