काठमाडौँ (रासस)। पछिल्लो समयमा व्यवसायीक रुपमा पालिका कुखुराहरुमा गम्बारो रोगको समस्या देखिएको छ । राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशाला चितवनमा आएका नमुनाहरुको परिक्षण गर्दा कुखुराहरुमा गम्बारो रोगको समस्या देखिएको हो ।
प्रयोगशालाका सूचना अधिकारी पशु चिकित्सक इन्दु राय यादवका अनुसार दैनिक १२ देखि १५ वटा कुखुराको परिक्षणका क्रममा ४-५ वटामा गम्बारो रोगको संक्रमण भेटिने गरेको छ ।
कुखुरामा यो रोग देखिएमा एक्कासी खोरमा अत्याधिक कुखुराहरु झोक्राउने र मर्ने गर्छन् । यस्तै शरीर काप्ने, प्वाख गुजमुजिएजस्तो हुने, श्वास क्रिया बढ्ने, दानापानी नखाने, सेतो पहेंलो छेर्ने, ज्वरो आउने लम्पसार पर्ने जस्ता लक्ष्यणहरु देखिने यादबले जानकारी दिनुभयो । यस रोग लाग्न नदीनका लागि नियमित रुपमा गम्बारो बिरुद्धको खोप लगाउने, जैविक सुरक्षाका बिधिहरु अबलम्बन गर्ने,
इम्युनिटी पावर बढाउन कुखुरालाई भिटामी तथा औषधिको प्रयोग गर्ने ज्वरो कम गर्ने तथा तनाब कम गर्ने औषधिको प्रयोग गर्न सकीने उहाँले बताउनुभयो ।
कतिपय स्थानमा भ्याक्सिन लगाई सकिएका कुखुरामा समेत यो रोगको संक्रमण देखिए पछि अहिले थप अनुसन्धान बिभागले गरिरहेको उहाँले बताउनुभयो ।
यस रोग लाग्न नदीनका लागि खोरमा काम गर्न जानु भन्दा अघि जैबिक सुरक्षाका साधनहरुको प्रयोग गर्न जरुरी रहने उहाँको भनाई छ । प्रयोगशालामा चालु आर्थिक वर्षको तीन महिनामा ९२३ कुखुरामा रोगको पहिचान गरिएको यादबको भनाई छ । उहाँका अनुसार कुखुरामा व्याक्टेरीयल इन्फेक्सन (इ.कोलाई), साल्मोनेला रुघा खोकी लगाएतको समस्या देखिएका छन् ।
खोरको सरसफाई र दाना पानीमा राम्रोसंग निगरानी नगर्दा यस्तो रोग लाग्ने गरेको उहाँले जानकारी दिनुभयो । यहाँ, चितवन सहित मकवानपुर, नवलपरासी, तनहुँ, लमजुङ, गोरखालगाएतका २० जिल्लाबाट यहाँ पन्छी रोगको अन्वेषणका लागि किसानहरु आउने गरेको उहाँले बताउनुभयो ।
बार्षिक रुपमा ६ देखि ८ हजार कुखुराको पोष्टमार्टम रगत, श्वाब परिक्षण गरिदैं आईएको छ ।