काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा मुख्यतः स्थानीय वायुको प्रभाव रहेको जनाइएको छ। हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशसहित देशका अधिकांश पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली देखिएको छ भने बाँकी भूभागमा मौसम मुख्यतः सफा देखि आंशिक बदली रहेको छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानहरूमा अहिले मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। बुधबार दिउँसो देशका पहाडी भूभागका थोरै स्थानहरू र अन्य भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। यसैगरी, उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्का वर्षा र हिमपात पनि हुन सक्ने अनुमान गरिएको छ।
बुधबार राति कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा समेत हल्का वर्षाको सम्भावना छ भने हिमाली क्षेत्रमा पनि हल्का हिमपात हुन सक्ने देखिएको छ।
बिहीबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। पहाडी क्षेत्रका केही स्थानहरू र अन्य भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ। विशेषगरी कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना समेत रहेको विभागले जनाएको छ।
बिहीबार राति पनि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रमा आंशिक बदली रहनेछ। यी क्षेत्रका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ भने कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा हल्का वर्षा र हिमपात पनि हुनसक्नेछ।
मौसमविद्हरूले मेघगर्जन, चट्याङ्ग, वर्षा र हिमपातका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्।