नेपाली बजारमा पाइने पाँच प्रकारका रेलिङ, तपाईंलाई कुन उपयुक्त?

काठमाडौँ।  हामीले घर बनाउँदा घरमा पक्कै पनि घरको भर्याङ, बाल्कोनी, टेरेस, बार्दली, छत आदि क्षेत्रमा हामी रेलिङ लगाउँछौं। 

यसको उद्देश्य भनेको आफ्नो परिवारका सदस्यहरू कोहि कसैलाई पनि दुर्घटना नहोस् भन्नका लागि राखिन्छ अर्थात सुरक्षित रहनका लागि राखिन्छ। रेलिङ लगाउँदा यसको हाइट, म्याटेरियल आदि गुणले यसको सार्थकता निर्धारण गर्छ।

घरमा रेलिङ लगाउनु भनेको सुरक्षाको प्रत्याभुतिका लागि हो। सँगै यसले घरको आन्तरिक तथा बाह्य सजावटमा पनि महत्वपूर्ण भूमिका खेल्दछ। 

सिँढी, बरण्डा जस्ता संरचनामा मान्छेलाई लड्नबाट सुरक्षा दिनलाई रेलिङ प्रयोग गरिन्छ। रेलिङ आफैमा संरचनात्मक संरचना भने होइन। यसले घर कति बलियो बन्‍ने निर्धारण नगरे पनि घर बाहिरबाट हेर्दा कस्तो हुने, घर कस्तो देखिन्छ भन्‍नेबारे चाँही एकदमै प्रभाव पार्दछ। 

घरको प्रकार अनुसार रेलिङ पनि फरक–फरक किसिमको हुन्छ। आधुनिक घरमा राखिने र क्लासिकल घरमा राखिने रेलिङ फरक हुन्छन्। फरक नै राख्‍नु पर्छ। प्राचिन आर्किटेक्चरल डिजाइन गरेको घरमा ग्लास रेलिङ राखेको पक्कै पनि आकर्षक देखिँदैन। 

रेलिङ ट्याक्कै यति प्रकारका हुन्छन् भन्‍ने वर्गीकरण त हुँदैन तर, प्रयोग अनुसार विभिन्‍न खालको रेलिङहरू बजारमा पाइन्छ, त्यसको बारेमा हामी हामी यहाँ चर्चा गर्नेछौँ

१. इट्टाको रेलिङ :

केही वर्ष अघिसम्म बजारमा रेलिङको धेरै विकल्प नपाउन्जेल इट्टा वाल लगाएर नै रेलिङ बनाउने चलन रेहको थियो। यसैलाई पनि कलात्मक लुक्स दिएर आकर्षक बनाउन सकिन्छ। यस्तो प्रकारको रेलिङ सबै कम खर्चिलो हुन्छ। वाल लगाएर प्लास्टर गर्ने र प्लास्टरमा विभिन्‍न बुट्टा दिएर राम्रो देखाउने काम गर्न सकिन्छ। वालकै रेलिङमा विभिन्‍न आर्किटेक्चरल सिप लगाएर निकै राम्रो र आकर्षक बनाउन पनि सकिन्छ। इट्टा वालको माथि स्टील र मेटलको रेलिङ पनि जोड्ने चलन छ।

२. स्टील रेलिङ :

यस्तो प्रकारको रेलिङ अहिले सबै भन्दा बढि प्रयोगमा आइरहने रेलिङ हो। आर्थिक हिसाबले पनि यो खासै महँगो हुदैन। विभिन्‍न व्यास (डायमिटर) का स्टिल पाइपलाई तेर्सो राखेर रेलिङ बनाउन सकिन्छ। हेर्दा पनि राम्रै देखिने र ब्रसले घोटेर वेल्डिङ गरेको ठाउँ लाई पनि धार मार्ने काम गरेर चिल्लो र सफा बनाईसके पछि स्टिलको रेलिङले हातमा चोट पनि लाग्दैन। यो रेलिङ सफा गर्न पनि सजिलो हुन्छ।

३. आइरन रेलिङ ः

यो रेलिङ स्टिल रेलिङको विकल्प हो। स्टिल भन्दा अलि सस्तो पनि पर्छ। तर, यसको प्रयोग भने त्यती धेरै गरिँदैन। मेटल रेलिङ राम्रोसँग बनाउन नजान्‍ने मिस्त्रि पर्यो भने त्यती सुन्दर देखिँदैन। हातमा राम्रो सिप भएको मिस्त्रीले बनाएको मेटल रेलिङ भने एकदमै आकर्षक देखिन्छ। स्टिल भन्दा आइरनरमेटल रेलिङलाई आवश्यकता अनुसार घुमाउन, बङ्ग्याउन र विभिन्‍न आकारको बनाउन सकिने हुँदा यसको उपयोगिता पनि धेरै हुन्छ। राम्रो मिस्त्रिले बनाउने फलामको रेलिङलाई आकर्षक बुट्टा राखेर काठको रेलिङसँग पनि प्रयोग गर्न सकिन्छ।

४. काठको रेलिङ :

काठको रेलिङ सबैभन्दा आकर्षक र प्रिमियम देखिन्छ। यसको प्रयोगले घरको सुन्दरता अत्याधिक बढाँउछ। तर यसमा खर्च पनि धेरै नै हुन्छ। काठको रेलिङमा माथिको हातले समाउने भाग काठको र अरू भाग मेटल अथवा काठकै पनि बनाउन सकिन्छ। विभिन्‍न बुट्टा तथा आकृतिहरू कोरेर काठको रेलिङलााई निकै नै राम्रो बनाउन सकिन्छ। काठको रेलिङ भने सिढीमा मात्र राख्‍न मिल्छ। पानीले भिज्‍ने ठाउँमा वा बरन्डामा काठको रेलिङ प्रयोग गर्नुहुँदैन। तर, पानी नपर्ने गरि बनाएको बरन्डामा भने प्रयोग गर्न सकिन्छ।  

५. ग्लास रेलिङ ः

 यस्तो किसिमको रेलिङ स्टिल रेलिङ कै अर्को रूप हो। आधुनिक घरहरूमा ग्लास रेलिङको प्रयोग बढ्दो छ। यसले पनि घरको सजावटलाई असाध्यै आकर्षक बनाउँछ। बाहिरी बरन्डा वा सिढीमा पनि ग्लास रेलिङ प्रयोग गर्न सकिन्छ। यस्तो प्रकारको रेलिङ पनि अरू भन्दा अलिकति महँगो नै हुन्छ। 

रेलिङ बनाउने सुरक्षाको लागि हो। त्यसैले आकर्षक हुनुको साथै रेलिङ सुरक्षित पनि हुन जरूरी छ। सुन्दरताको हिसाबले मोर्डन घरमा ग्लास रेलिङ र क्लासिकल घरमा काठको रेलिङ बढि राम्रो देखिन्छ। तर, फेरि घरको डिजाइन र आफ्नो छनौट अनुसार यो फरक पर्न सक्छ। बनाउन सकेको खण्डमा क्लासिक घर इट्टा वालको माथि फलामको रेलिङ बनाउँदा निकै राम्रो डिजाइनको रेलिङ बनाउन सकिन्छ। 

सुरक्षाको हिसाबले भने इट्टाको वालको रेलिङ अलि बलियो नै हुन्छ। तर, राम्रोसँग वेल्डिङ गरेर बनाएको छ भने स्टिल र मेटल रेलिङ पनि राम्रो हुन्छ। 

रेलिङ के को राख्‍ने भनेर पहिले नै पक्का गरेर सिढी र बरन्डामा रेलिङको पोस्ट अड्याउने ठाउँ बनाएर राख्‍ने हो भने सबै प्रकारको रेलिङ सुरक्षित नै हुन्छन्। 

प्रतिक्रिया