काठमाडौं। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु र स्थानीय वायूको आंशिक प्रभाव सक्रिय रहेको छ। यसको कारणले देशका पहाडी भूभागमा आंशिक बदली देखिएको छ भने बाँकी भूभागमा मौसम मुख्यतः सफा रहेको छ।
विभागका अनुसार गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हाल मेघगर्जन तथा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो पनि पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराई तथा अन्य भूभागहरूमा मौसम प्रायः सफा रहने अनुमान गरिएको छ।
कोशी प्रदेशका पहाडी क्षेत्रमा समेत मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। साथै, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको मौसमविद्हरूको भनाइ छ।
सोमबार पनि यस्तै मौसम स्थिति रहने विभागको अनुमान छ। पहाडी क्षेत्रहरूमा आंशिक बदली तथा उच्च पहाडी क्षेत्रमा हल्का वर्षा वा हिमपातको सम्भावना यथावत रहनेछ।
वर्षाको सम्भावना कम रहेकाले देशका धेरै स्थानमा वायू प्रदूषण, सुख्खापन र आगलागीको जोखिम बढ्ने सम्भावना रहेको विभागको चेतावनी छ। यसले स्वास्थ्य, कृषि, जनजीवन, सडक तथा हवाई यातायातमा प्रतिकूल असर पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar