काठमाडौँ। यदि तपाईं पहिलोपटक जग्गा किन्दै हुनुुहन्छ भने तपाईंले पक्कै पनि हालसाविकबारे सुनेको नहुन सक्छ।
तर, जग्गा किन्ने क्रममा तपाईं यो प्रकृयामा सहभागी नभइ नहुने अवस्था आउन सक्छ। आखिर के हो त जग्गाको हालसाविक गर्नु भनेको? हालसाविक गर्न किन जरूरी छ? कस्तो जग्गालाई हालसाविक गर्नु पर्छ? कस्तो हुन्छ हालसाविक गर्ने प्रकृया? हालसाविक नगरे के हुन्छ? यी सबै प्रश्नको जवाफ आज हामी यो लेखमा तपाई्रहरूलाई दिँदै छौं।
हालसाबिक भनेको के हो?
सामान्यतयाः हालसाबिक भनेको नयाँ नापी भइसकेपछि पुरानो श्रेस्तालाई खारेज गरेर नयाँ नापी अनुसारको श्रेस्ता कायम गर्नु हो। श्रेस्ता भनेको सम्बन्धित मालपोत कार्यालयमा रहेको जग्गाको दर्ता प्रमाणको रेकर्ड (अभिलेख) हो। नयाँ श्रेस्ता कायम भइसकेपछि सम्बन्धित मालपोत कार्यालयमा गएर पुरानो श्रेस्ता खारेज गरी नयाँ श्रेस्तालाई अद्यावधिक गर्नुपर्छ।
जग्गाधनीसँग लालपुर्जा हुन्छ भने सोहि सम्पत्तीको अभिलेख मालपोत कार्यालयमा हुन्छ। यदि पुरानो नापी अनुसारको श्रेस्ता मालपोत कार्यालयमा रहेको छ भने हालसाबिक गरिसकेपछि त्यही अनुसारको नयाँ श्रेस्ता कायम गरी नयाँ लालपुर्जा लिनुपर्ने हुन्छ। पुरानो नापी भएको ठाउँमा मात्र हालसाबिक गर्नुपर्छ, नयाँ नापी भएको ठाउँमा हालसाबिक गरिरहन जरूरी हुँदैन।
कहिले–कहिले गर्नुपर्छ हालसाबिक?
नेपालमा नापजाँच ऐन २०१९ बमोजिम वि.सं. २०२१ मा पहिलो पटक जग्गाहरूको नापी गर्ने कार्यको शुरूवात भएको थियो। त्यसबेला आवाद क्षेत्रको मात्रै जग्गा नापजाँच गर्ने भन्ने म्यान्डेट नापी विभागलाई थियो। त्यो समयमा नापजाँच गर्ने जनशक्ति, नापजाँचको प्रविधि, यन्त्र–उपकरण, जनशक्तिको प्राविधिक ज्ञान पनि कम थियो।
२०२१ मा हदबन्दी समेत तोकेर भूमिसम्बन्धी ऐन लागू भयो। कसको नाममा कति जग्गा छ भन्ने प्रारम्भिक तथ्याङ्क पनि थिएन। त्यतिखेर नापजाँचको उद्देश्य पूर्ण नापजाँच विवरण सङ्कलन गर्नेभन्दा पनि जग्गाको तथ्याङ्क निकाल्नु रहेको थियो। त्यसयता धेरै भौतिक संरचनाहरु निर्माण भएका छन् भने जग्गाको अपडेट डिटेल राख्नको लागि नयाँ नापी आवश्यक भएकोले हरेक २० वर्षमा नयाँ नापी गर्नुपर्ने व्यवस्था कानूनमा उल्लेख छ।
कसरी गरिन्छ हालसाबिक?
खुला क्षेत्रमा समयसँगै घर, भवनहरू निर्माण हुने भएकोले कति जग्गा खाली छ भनेर पत्ता लगाउनको लागि पनि नयाँ नापीको आवश्यकता रहेको हो। खाली जग्गाको नाप नक्शा यकिन गरी त्यस अनुसारको श्रेस्ता तयार हुन्छ। त्यसलाई फिल्डबुक भनिन्छ। नापीको महत्वपूर्ण कागजात मध्ये फिल्डबुक पनि एउटा हो। नापी विभागका अनुसार कानूनले जग्गाको नापजाँच गर्न फिल्डमा जाँदा जे छ जमिनको हालको अवस्था, जे–जे देखाइयो त्यो हुबहु टिपोट गरेर नक्साङ्कन गर्ने भन्ने प्रावधान राखेको छ, तर यसरी गरिएको नक्साङ्कन नै अन्तिम भन्ने हुँदैन।
सम्बन्धित सरोकारवालाहरू जस्तै जग्गाधनी, सम्बन्धित वडाका प्रतिनिधि, साँध–सँधियार आदिको उपस्थितिमा कुनै निश्चित वडाको नयाँ नापजाँच गरिसकेपछि सम्बन्धित नापी कार्यालयले हामीले यो/यो क्षेत्रमा नापजाँच गर्दा यस्ता/यस्ता विवरण आएको छ, यो–यो कित्ता नम्बर कायम भयो, चार किल्लाको विवरण यस्तो आयो भनी जानकारी गराइ नयाँ नापजाँचमा कसैको दाबी, गुनासो भए सम्पर्क गर्न ७ दिने सार्वजनिक सूचना प्रकाशित गर्छ। यस समयमा सम्बन्धित नापी कार्यालयले नापजाँचमा केही त्रुटी भए नभएको बुझ्न उपलब्ध प्रमाणहरू केलाउने काम गर्छ। यही ७ दिनभित्र जग्गधानीहरू आएर कसैको दाबी, विरोध, गुनासो भए नियमानुसार रीतपूर्वक निवेदन दिन सक्छन।
यदि उक्त समयमा जग्गाका साँध–सँधियारबाट आफ्नो जग्गा समेत अर्काको जग्गाको नापमा परेको केही उजुरी, गुनासो नआए नापजाँच ऐन २०१९ र नियमावली २०५८ मा व्यवस्था भएअनुसार नापी कार्यालयमा सोही नापजाँच विवरण दर्ता गरिन्छ र मालपोतमा जग्गाको नयाँ श्रेस्ता कायम गरिन्छ।
हालसाबिक अनुसारको नयाँ लालपुर्जा कसरी दिइन्छ?
नयाँ नापी गर्दा नाप नक्शा गरीसकेपछि जसको नाममा जग्गा थियो त्यसैको नाममा फिल्डबुक कायम हुन्छ। जग्गा नापजाँच ऐन र नापीले बनाएको नियमावली, निर्देशिका अनुसार हालसाबिक कार्यान्वयन हुन्छ। मालपोतमा जग्गाको नयाँ श्रेस्ता कायम गरी पुरानो श्रेस्ता खारेज हुन्छ। एउटै कित्ताको पुनः नापी गरी पुरानो नापी खारेज गर्ने र पुनः नापीअनुसारको नयाँ श्रेस्ता लागू गर्ने सम्मका विभिन्न प्रक्रियालाई एकमुष्ट रूपमा हालसाबिक भन्ने गरिन्छ।
नयाँ फिल्डबुक र नक्सा नापी कार्यालय मै राखिन्छ, श्रेस्ता मालपोत कार्यालय पठाइने र नयाँ पुर्जा जग्गाधनीलाई दिइने गरिन्छ। तर, हालसाबिक गरेपछि अपडेट गरिएको श्रेस्ताअनुसार नयाँ पूर्जा बनाउन आउने कुरामा चाहिँ चेतनाको कारणले जग्गाधनीको उत्सुकता कम हुन पनि सक्दछ। अधिकांश जग्गाधनीमा पुरानो नक्सा, पूर्जा मसँग छँदै छ, नयाँ किन चाहियो र? भन्ने मानसिकता पनि हुनसक्छ।
हालसाबिक नभए के हुन्छ?
नयाँ नापी भएको ठाउँमा यदि कसैले जग्गा किनेको छ र त्यस जग्गाको हालसाबिक भएको छैन भने हालसाबिक नगरी जग्गाको लिखत पारित गर्ने प्रक्रिया अगाडि बढ्दैन। यदि हालसाविक गरिएको छैन भने पछिल्लो प्रविधिअनुसारको जग्गाको यकिन क्षेत्रफल लिई जग्गाको नक्सा कायम भएको हुँदैन।
हालसाबिक नभएको जग्गा किनबेच गर्न मिल्छ कि मिल्दैन?
नापीले मालपोतमा नयाँ श्रेस्ता हस्तान्तरण गरेको ६० दिनपछि कुनै जग्गाधनीले केही दाबी विरोध नगरेको खण्डमा त्यस क्षेत्रको पुरानो श्रेस्ता खारेज हुन्छ। यदि कुनै जग्गाधनीले ६० दिनभित्रको समयमा केही दाबी विरोध गर्नुपर्ने भएमा, दर्ता गर्न छुटेमा मालपोतमा निवेदन दिन सक्छ। र, फेरी नापजाँचका लागि मालपोतले सम्बन्धित नापी कार्यालयलाई सिफारिस गरिदिन सक्छ। फेरी अघि भनेझैँ प्रक्रियाबाट पुनः नापजाँच गरी नियमानुसार नयाँ श्रेस्ता मालपोतमा पठाएका मितिले ६० दिनपछि पुरानो श्रेस्ता खारेज हुन्छ र नयाँ श्रेस्ता लागू हुन्छ।
अर्थात, अधिकतम १२० (६+६०) दिन पूरा भएपछि नापजाँच ऐन, दफा ८ (क) अनुसार स्वतः नयाँ श्रेस्ता लागू हुन्छ र त्यसपछि पुरानो श्रेस्ताबाट जग्गा खरीद बिक्री गर्न पाइँदैन। ६०-६० दिन गरेर अधिकतम १२० दिनलाई संक्रमणकालीन समय मान्ने हो भने यो समयमा भने पुरानो श्रेस्ताबाटै खरीद–बिक्री गर्न पाइन्छ तर यो समयसीमा सकिएपछि नयाँ श्रेस्ता लागू भएसँगै पुरानोबाट जग्गा कारोबार गर्न कानूनले बन्देज गरेको छ। तर यस्तो अवस्थामा खनजोत, खेतीपाती वा अन्य कृषिकर्म गर्न पनि मिल्दछ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar