पर्वतमा सुविधासम्पन्न प्रसूतिगृह निर्माण

काठमाडौँ। पर्वतको ग्रामीण क्षेत्रका गर्भवतीलाई सुरक्षित रूपमा प्रसूति सेवा उपलब्ध गराउने उद्देश्यले मोदी गाउँपालिका–६ तिलाहारमा सुविधासम्पन्न प्रसूतिगृह निर्माण भएको छ।

गण्डकी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको सहयोगमा रू ९९ लाख १९ हजार ९ सय ५३ को लागतमा भवन निर्माण भएको मोदी गाउँपालिकाकी अध्यक्ष हीरादेवी शर्माले बताइन्।  उक्त भवनवाट सेवा सुरू भएपछि ८ वटै वडाका साथै कास्कीको अन्नपूर्ण गाउँपालिकाका गर्भवती सुरक्षित प्रसूति सेवाका लागि सदरमुकाम कुश्मा र  पोखराका अस्पतालमा जानुपर्ने बाध्य हट्नेछ। प्रसूतिगृहमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ चिकित्सकसहित जनशक्ति व्यवस्थापन गरिने जनाइएको छ। 

गाउँपालिकाले गर्भवतीका लागि निःशुल्क एम्बुलेन्स सेवा पनि दिँदै आएको छ। पर्वतमा यो बाहेक ३८ वटा बर्थिङ सेण्टर सञ्चालनमा रहेका छन्। गत आर्थिक वर्षमा यी सेण्टरबाट ५ सय ५१ जनाले सुरक्षित प्रसूति सेवा लिएका जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। 

जिल्लाका ९२ वटा स्वास्थ्य संस्थामध्ये २७ वटा भाडाका भवनमा सञ्चालनमा रहेका छन्। आफ्नै भवन भएका ६५ वटा स्वास्थ्य संस्थामा पनि पर्याप्त भौतिक पूर्वाधार, जनशक्ति, खानेपानीको अभाव रहेको छ।  

प्रतिक्रिया