नवलपरासी, (रासस) २३ कात्तिकः वैदेशिक रोजगारका लागि इजरायल गएका रामग्राम–५ का ४५ वर्षीय नरेश जयसवालले स्वदेश फर्किएपछि व्यावसायिक रूपमा कृषि पेसामा आबद्ध भएका छन्। पाँच वर्ष इजरायल बसेर फर्केपछि दुई वर्षदेखि उनले व्यावसायिक कृषि पेसा गर्दै आएका हुन्।
जीविकोपार्जन र आम्दानीका लागि विदेश जानुभन्दा स्वदेशमा कृषिकर्मबाट मनग्ये आम्दानी गर्न सकिने जयसवालले बताए। वार्षिक रू एक हजारका दर जग्गा भाडामा लिएर खेती सुरू गरेको भन्दै पाल्हीनन्दन गाउँपालिका र रामग्राम नगरपालिकाभित्रका जग्गाधनीसँग सम्झौता गरेर ३५ बिघा जग्गामा धानखेती गरिरहेको उनले जानकारी दिए।
यस वर्ष एक सय टन धान उत्पादन भएको जनाउँदै जयसवालले ३५ बिघामध्ये २९ बिघा भाडामा लिएको र बाँकी छ बिघा पैतृक सम्पत्ती रहेको बताए। सो जग्गामा सावित्री, रामधान, चैते–५ लगायत जातका धान लगाएको उनको भनाइ छ।
कृषि खेतीमा आफूलाई लुम्बिनी प्रदेश सरकार कृषि निर्देशनालयले गत वर्ष उत्कृष्ट कृषकका रूपमा रू ५१ हजारसहित पुरस्कार प्रदान गरेको जयसवालले जानकारी दिए। पुरस्कारपछि आफूलाई थप हौसला मिलेको उनले उल्लेख गरे।
बिउ उत्पादन गर्न जयसवालले नवलपरासीमा ‘आरोही सिड्स’ कम्पनी सञ्चालन गरेका छन्। उक्त कम्पनीबाट आधुनिक जातका धान, मकै लगायतका बिउ स्थानीयलाई उपलब्ध गराउँदै आइएको जिल्लास्थित कृषि ज्ञान केन्द्रका प्रमुख डा. रवीन्द्रनाथ चौबेले बताए।
पछिल्लो समय यहाँका किसानको व्यावसायिक कृषिमा आकर्षण बढन थालेको पाल्हीनन्दन गाउँपालिका–२ का वडाध्यक्ष जगदिश गुप्ताले बताए। केहीवर्ष अघिसम्म जीविकोपार्जनका लागि मात्र परम्परागत खेती गर्दै आएका यहाँका किसान अहिले व्यावसायिक खेतीमा आबद्ध हुन थालेका उनको भनाइ छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar