काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायू र स्थानीय वायूको आंशिक प्रभाव रहेको छ। सोमबार लुम्बिनी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदली रहँदा बाँकी क्षेत्रमा आंशिक बदलीदेखि मौसम मुख्यतः सफा रहनेछ।
मौसमविद्हरूका अनुसार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा तथा उच्च पहाडी र हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। अपरान्हको समयमा कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हावाहुरी चल्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मंगलबार देशभर आंशिक बदली रहनेछ भने मौसम मुख्यतः सफा रहने मौसमविद्ले बताएका छन्। गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपात हुनसक्ने अनुमान गरिएको छ। साथै, कोशी प्रदेश र मधेश प्रदेशका केही स्थानहरूमा हावाहुरी चल्ने सम्भावना रहेको छ।
बुधबार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने अन्य स्थानहरूमा आंशिक बदलीदेखि मौसम मुख्यतः सफा रहनेछ। यी प्रदेशका पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा हुनसक्ने तथा उच्च पहाडी र हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ।
मौसमविद्हरूका अनुसार मेघगर्जन, चट्याङ्ग, हल्का वर्षा, हिमपात तथा हावाहुरीको असर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar