काठमाडौँ। नदीजन्य फोहर बढ्दा बञ्चरेडाँडामा व्यवस्थापन गरिने फोहरको मात्रा बढेको छ।
काठमाडौँ महानगरपालिका वातावरण व्यवस्थापन विभागका अनुसार काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडामा बाढीले ल्याएको फोहोर पनि विसर्जन गर्नुपरेको हो। दैनिक लगिने फोहर पनि निकै बढेको छ।
यसअघि उपत्यकाका १८ स्थानीय तहको फोहर विसर्जनमा २ सय गाडी प्रयोग हुँदै आएकोमा असोज १२ गतेको अबिरल वर्षापछि दैनिक ३ सय गाडी उपयोग हुँदै आएका छन्। हाल दैनिक रूपमा १ हजार ६ सय मेट्रिक टन फोहर व्यवस्थापन भइरहेको छ।
साविकको सिसडोलमा व्यवस्थापन हुँदै आएको फोहर उक्त स्थान भरिएपछि विगत २ वर्षदेखि अन्तिम फोहर व्यवस्थापनस्थलका रूपमा बञ्चरेडाँडामा लगिँदै आएको छ। यसरी उपत्यकामा उत्पादन भएको सबै फोहर व्यवस्थापन गर्दा उक्त स्थानको आयु घट्ने भन्दै कामपाले स्रोतमा नै फोहर व्यवस्थापन गर्नुपर्नेमा जोड दिएको छ।
पुनः प्रयोग गर्न सकिने फोहर पनि बञ्चरेडाँडामै पुगेको छ। कुहिएर मल हुने कच्चा पदार्थ पनि त्यही लगिन्छ। उत्पादन भएकै ठाउँमा बेच्न मिल्ने सामान पनि फोहर बनाएर बञ्चरेडाँडामा नै लगिएको छ। यसलाई रोक्न सकेमात्र पनि बञ्चरेडाँडाको आयु बढाउन सकिने महानगरपालिका वातावरण व्यवस्थापन विभागले जनाएको छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar