काठमाडौं। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालभर पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव सक्रिय रहेको छ। देशभर आंशिकदेखि साधारणतया बदलीको अवस्था देखिएको छ भने कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको जानकारी प्राप्त भएको छ।
आज सोमबार, कोशी र मधेश प्रदेशसहित देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली रहनेछ। यस क्रममा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ्गसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।
यस्तै, मङ्गलबार पनि यस्तै मौसम रहने पूर्वानुमान गरिएको छ। कोशी प्रदेश लगायत देशका अधिकांश पहाडी क्षेत्रहरूमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने अन्य क्षेत्रहरूमा आंशिक बदली रहनेछ। मेघगर्जन, चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना पनि जारी रहनेछ।
मौसमविद्हरूका अनुसार मेघगर्जन, चट्याङ्ग, वर्षा तथा हिमपातका कारण दैनिक जनजीवन, स्वास्थ्य, कृषि, सडक तथा हवाई यातायातमा असर पर्नसक्ने हुँदा आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ।