‘Think before you follow, wise money tomorrow’ नारासहित ‘ग्लोबल मनी विक २०२५’ सुरु

काठमाडौं। विश्वव्यापी वित्तीय साक्षरतासम्बन्धी अभियान ‘ग्लोबल मनी विक २०२५’ आजदेखि नेपालमा सुरु भएको छ। हरेक वर्ष मार्च महिनामा साताव्यापी रूपमा मनाइने ग्लोबल मनी विकको यो १३औं संस्करण हो। यस वर्षको अभियान ‘Think before you follow, wise money tomorrow’ भन्ने नाराका साथ मनाइँदैछ।

अभियानको पहिलो दिन नेपाल राष्ट्र बैंकले नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड र सहकारी विभागसँगको सहकार्यमा ‘नेशनल लन्च इभेन्ट’ आयोजना गर्यो। उक्त कार्यक्रम काठमाडौंस्थित विभिन्न विद्यालयका कक्षा ७ देखि ८ सम्मका करिब ६०० विद्यार्थीको सहभागितामा सम्पन्न भएको थियो।

गभर्नर अधिकारीद्वारा उद्घाटन, डिजिटल वित्तीय सुरक्षा आवश्यकताको जोड

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कार्यक्रमको उद्घाटन गर्दै वित्तीय साक्षरताको महत्त्वबारे प्रकाश पार्नुभयो। उहाँले वित्तीय सेवाहरू आवश्यकताअनुसार विचारपूर्वक छनोट गर्नुपर्ने उल्लेख गर्दै भन्नुभयो,

"बैंक तथा वित्तीय संस्थाका आफ्नै प्रडक्ट हुन्छन्। बचत र कर्जाका फरक-फरक सर्त र व्याजदर छन्। आफूलाई उपयुक्त हुने प्रडक्ट मात्र छनोट गर्नुपर्छ।"

डिजिटल वित्तीय कारोवारको वृद्धिसँगै बढ्दो चुनौतीबारे सचेत गराउँदै गभर्नर अधिकारीले डिजिटल माध्यमको सुरक्षित प्रयोग गर्न सतर्कता अपनाउन आग्रह गर्नुभयो।

कार्यक्रमको दोस्रो सत्रमा नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड, बीमा प्राधिकरण, सहकारी विभाग तथा बैंकर्स एसोसिएसनका अधिकारीहरूको सहभागितामा प्यानल छलफल भएको थियो। छलफलमा राष्ट्र बैंकका कार्यकारी निर्देशक किरण पण्डित, धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी, बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदी, सहकारी विभागका निमित्त रजिष्ट्रार रघुनाथ महत र नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष सन्तोष कोइरालाले वित्तीय प्रणालीबारे विद्यार्थीहरूलाई जानकारी गराएका थिए।

छलफलको सहजीकरण नेपाल राष्ट्र बैंकका निर्देशक हिमप्रसाद न्यौपानेले गर्नुभएको थियो भने समापन मन्तव्य गभर्नरको कार्यालयका कायममुकायम कार्यकारी निर्देशक डा. डिल्लीराम पोखरेलले राख्नुभएको थियो।

नेपाल राष्ट्र बैंकको संयोजनमा चैत १० गतेसम्म देशभर वित्तीय सचेतना कार्यक्रमहरू सञ्चालन हुने छन्। नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, सहकारी विभाग तथा नेसनल बैंकिङ इन्स्टिच्युट लिमिटेडले युवालक्षित वित्तीय चेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्नेछन्।

बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक, रेमिट्यान्स कम्पनीहरूले समेत ग्लोबल मनी विकअन्तर्गत विभिन्न गतिविधिहरू सञ्चालन गर्नेछन्।

ग्लोबल मनी विकअन्तर्गत बैंकिङ/वित्तीय प्रणाली, पुँजी बजार, बीमा र सहकारी सेवा सम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ विभिन्न कार्यक्रम तय गरिएको छ। जसअन्तर्गत:

✅ विद्यार्थीलाई लक्षित अन्तरक्रिया कार्यक्रम तथा चेतनामूलक प्रतियोगिता

✅ सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत वित्तीय चेतनामूलक कार्यक्रम प्रसारण

✅ विद्यार्थीलाई वित्तीय सेवाप्रदायक संस्थाका अवलोकन गराउने कार्यक्रम

कार्यक्रमको पहिलो दिन विद्यार्थीहरूबीच वित्तीय साक्षरतासम्बन्धी हाजिरीजवाफ प्रतियोगिता समेत आयोजना गरिएको थियो।

ग्लोबल मनी विक अभियान सन् २०१२ देखि OECD (Organization for Economic Cooperation and Development) को संयोजनमा विश्वव्यापी रूपमा सञ्चालन हुँदै आएको छ। नेपालमा भने सन् २०१३ देखि नेपाल राष्ट्र बैंकको नेतृत्वमा मनाइँदै आएको छ।

हालसम्म १७६ भन्दा बढी मुलुकका करिब ६ करोड बालबालिका, किशोरकिशोरी र युवा ‘ग्लोबल मनी विक’ अभियानबाट लाभान्वित भइसकेका छन्। यस अभियानको स्थायी नारा ‘Learn. Save. Earn.’ रहेको छ।

ग्लोबल मनी विकको मुख्य उद्देश्य किशोर/किशोरी तथा युवा पुस्तालाई वित्तीय शिक्षाको महत्त्वबारे सचेत गराउनु हो। यस अभियानले नेपालका विद्यार्थीहरूमा वित्तीय साक्षरताको प्रवर्द्धन र वित्तीय पहुँच विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया