काठमाडौँ। राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजना अन्तर्गत अन्नपूर्ण गाउँपालिका–३ को दाना खण्डमा कालोपत्र गर्न थालिएको छ।
एघार मिटर फराकिलो सडकमा टेवा पर्खाल, पानीको निकासका निम्ति नाली निर्माण, घुम्ती, लेभल मिलाउने, सबबेस, बेस राखिएसँगै कालोपत्र गर्न थालिएको हो। नागढुङ्गा–कैकुखोला खण्डको १६ दशमलब पाँच किलोमिटर सडक कालोपत्रसहित स्तरोन्नति गर्न रू ६३ करोडमा निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको आयोजनाले जनाएको छ।
मुस्ताङको कैकुखोला देखि घाँसा क्षेत्रमा गत वर्ष दुई किलोमिटर कालोपत्र भएको थियो। म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रे, घोप्टे र बादरजुङ भिरको पहाडमा एक किलोमिटर छ सय मिटर सडकलाई फराकिलो बनाएर ढलान गरिएको छ। हालसम्म आयोजनामा ९० प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ।
पर्वतको मालढुुङ्गादेखि म्याग्दी हुँदै चीनको स्वशासित क्षेत्र तिब्बतको कोरला नाकालाई जोड्ने दुई सय दुई किलोमिटर लामो दुई लेनको सडक रू १० अर्बको लागतमा २०७३ सालदेखि कालोपत्र सुरू भएको हो। हालसम्म यो आयोजनाको ८४ प्रतिशत भौतिक प्रगति भएको छ।
एक सय पाँच किलोमिटर कालोपत्र गर्ने लक्ष्य रहेकामा हालसम्म ९६ किलोमिटर कालोपत्र, पाँच किलोमिटर ढलान र ८५ किलोमिटर ग्राभेल भएको आयोजनाका सूचना अधिकारी बिष्णु चापागाईले बताए।
चौबीसवटा मोटरेबल पुल निर्माण गर्नुपर्नेमा १९ वटाको ठेक्का लागेको, १० वटा निर्माण सकिएको, पाँचवटा निर्माणाधीन, पाँचवटाको ठेक्का तोडिको र पाँचवटा पुल ठेक्का प्रक्रिया प्रारम्भ गर्न बाँकी रहेको उनले जानकारी दिए।
निर्धारित समयमा काम सम्पन्न नभएपछि आयोजना अवधि आ.व. २०८२÷८३ सम्म लम्ब्याइएको छ। सडक र पुल निर्माणका लागि ७ अर्बको ठेक्का सम्झौता भएकामा गत असारसम्म ६ अर्ब खर्च भएको छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar