पोखरामा खुल्यो ‘धुँवा सेतो र इँटा रातो’ बनाउने वातावणमैत्री इँटाभट्टा

काठमाडौँ।  इँटाभट्टाबाट ‘कालो’ धुवाँंको मुस्लो निस्किरहेको देखेका धेरैलाई सेतो धुँंवा फाल्ने इँटाभट्टा पनि हुन्छन् भन्दा विश्वास नलाग्न सक्छ। तर पोखरा इको रेड ब्रिक्स प्रा.लि.ले‍ सञ्चालनमा ल्याएको इँटाभट्टाबाट कालो होइन, सेतो धुँंवा मात्रै निस्केको देखिन्छ। 

नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय प्रविधिबाट सञ्चालन गरिएको यो इँटाभट्टाले परम्परागत इँटाभट्टाले जस्तो कालो धुँवा नफाल्ने भट्टा सञ्चालकको भनाई छ।

नेपाल इँटा उद्योग व्यवासायी महासंघको तथ्यांकअनुसार देशभर १२ सय हाराहारीमा इँटाभट्टाहरू रहेका छन्। तर, ती सबै इँटाभट्टाहरू भन्दा पोखरा इको रेड ब्रिक्सले सञ्चालनमा ल्याएको इँटाभट्टा आधुनिक रहेको सञ्चालकको दाबी छ।   

पोखरा इको रेड ब्रिक्सका टेक्निकल इन्जिनियर कृष्णभक्त दुवालका अनुसार यो इँटाभट्टाबाट कहिले पनि कालो धुँंवा निस्कँदैन। उनले भने, धुँवा चाहीँ सेतो निस्कन्छ, इँटा भने रातो। 

उनका अनुसार यस्ता आधुनिक इँटाभट्टामा हजारदेखि ११ सय डिग्री सेल्सियसमा होम म्यान क्लिनभित्र पोलेर इँटा पकाइन्छ। यही कारण यसका इँटाहरू रातो हुने गर्छन्। तर, धुवाँं भने कम प्रदुषित सेतो मात्रै फाल्छ। 

यो प्रविधिबाट इँटा उत्पादन गर्दा सबै काम मेसिनले नै गर्छ। मेसिनले इँटा पार्नेदेखि इँटा निकाल्नेसम्मको सबै काम गर्छ। यो प्रविधिबाट इँटा उत्पादन गर्दा बाह्रै महिना कारखाना सञ्चालन गर्न सकिन्छ। इँटा घाममा राखेर नभई आफै सुक्ने भएकाले यो प्रविधिबाट वर्षाको सिजनमा पनि इँटा बनाउन सकिने दुवालको भनाई छ।

अन्य सामान्य इँटाभट्टाहरू वर्षमा ६ महिना मात्रै चल्ने गर्छन्। प्रत्येक वर्ष मंसिरमा सुरू भई वैशाख महिनामा उद्योग बन्द गर्नुपर्छ। जेठदेखि पानी पर्न थाल्ने भएकाले त्यस्ता उद्योग अस्थायी रूपमा ६ महिना चल्ने र ६ महिना बन्द हुने गर्छन्। 

पोखरा इको रेड ब्रिक्स भक्तपुरको जगातीस्थित भक्तपुर इँटा तथा टायल उद्योग जस्तै १२ महिना सञ्चालन गर्न सकिने उद्योग हो। नेपालमा पहिलादेखि चल्दै आएका दुईवटा चाइनिज इँटा उद्योग थिए, भक्तपुर जगातीस्थित भक्तपुर इटा तथा टायल उद्योग र ललितपुरको हरिसिद्धि इटा तथा टायल उद्योग। तीमध्ये अहिले हरिसिद्धि इटा तथा टायल उद्योग बन्द भइसकेको छ। भक्तपुरको इटा तथा टायल उद्योग भने निजी क्षेत्रले सञ्चालन गर्दै आएको छ। 

चाइनिज प्रविधिबाट भक्तपुरमा चाइनिज इटा उत्पादन हुँंदै आए पनि अन्तर्राष्ट्रिय प्रविधिमा आधारित भएर यस्तो इँटाभट्टा सञ्चालन हुन नसकेको दुवालको भनाई छ ।

बंगलादेशबाट विज्ञ झिकाएर लामो समयदेखि काम गराई यस्तो आधुनिक उद्योग सञ्चालन गर्न सफल भएको कम्पनीले जनाएको छ। अटोमेटिक मेसिन मेड क्लिन व्रिक्स (इँटा) विज्ञलाई काम गराई यस्तो प्रविधि भित्राउन सफल भएको हो। 

इँटाभट्टाका कारण वातावरण प्रदूषण बढेको भन्दै सबैतिरबाट चर्को आलोचना हुँदै आइरहेको छ। यही आलोचनालाई थेग्न इँटा उद्योगीहरूले यो वर्ष ढिला गरी मात्रै अर्थात् माघ १ गतेदेखि मात्रै इटाभटामा फायरिङ (इँटाभट्टामा इँटा पोल्न आगो लगाउने काम) गर्ने भएको नेपाल इँटाभट्टा व्यवसायी महासंघले जानकारी दिएको छ। 

प्रतिक्रिया