काठमाडौँ। चितवन जिल्लाको माडी र पर्साको ठोरी क्षेत्रका बस्तीमा हात्ती छिर्न थालेपछि सावधानी अपनाउन चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले आग्रह गरेको छ।
यस क्षेत्रमा जङ्गली हात्ती देखिएकाले रातको समयमा एक्लै हिँडडुल नगर्न स्थानीयलाई निकुञ्जले अनुरोध गरेको हो।
यस क्षेत्रमा विगत एक सातादेखि जङ्गली हात्ती समूहमा देखिन थालेकाले आवश्यक सावधानी अपनाउन स्थानीयलाई अनुरोध गरिएको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले बताए। उनका अनुसार धान पाक्ने समयमा धान खान आएका हात्ती माडी र ठोरी क्षेत्रमा देखिएका हुन्। हात्तीका कारण रातको समयमा हिँडडुल गर्दा मानवीय क्षति हुनसक्ने भएकाले एक्लै नहिँड्न र हिँड्नै परेमा उज्यालो बनाएर, समूहमा तथा चनाखो भएर हिँड्न निकुञ्ज प्रशासनले भनेको छ।
हात्ती समूहमा छिर्ने र फरकफरक ठाउँमा गएर नागरिकलाई आक्रमण गर्ने, अन्नबाली नष्ट गरिदिने भएको सूचना अधिकारी थापामगरले बताए। धानखेती भित्र्याउने समयमा समूहमा हात्ती आउँदा स्थानीय त्रसित हुने गरेका छन्। नेपालबाट भारत र भारतबाट नेपालमा समयसमयमा जङ्गली हात्ती आवतजावत गर्ने गरेकाले पनि बस्ती असुरक्षित बनेको उनले बताए।
“जङ्गली हात्तीलाई लखेट्न निकुञ्जका कर्मचारी र सुरक्षार्थ खटिएको नेपाली सेनाको टोली परिचालन गरिएको छ”, सूचना अधिकारी थापा मगरले भने, “हात्ती भगाउन ढ्याङ्ग्रो ठटाउने, राँको बाल्ने लगायत काम गर्दै आएका छौँ। हात्ती हिंश्रक भएमा प्लाष्टिकको गोलीले हवाई फायरसमेत गर्ने गरी तयारी अवस्थामा छौँ।”
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar