काठमाडौं । नेपाल फ्लोरिकल्चर एशोसिएसनको आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा सञ्चालित ‘२६औं फ्लोरा एक्स्पो २०२५’ सोमबार सफलतापूर्वक सम्पन्न भएको छ। नेपालमा फूल तथा बोटबिरुवाको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यो एक्स्पोमा अन्तिम दिन २१ लाख रुपैयाँभन्दा बढीको व्यापार भएको छ भने १० हजारभन्दा बढी अवलोकनकर्ताले एक्स्पो भ्रमण गरेका छन्।
नेपाल फ्लोरिकल्चर एशोसिएसनका अनुसार एक्स्पो अवधिभर व्यवसायीहरूले विभिन्न जातका फूल, सजावटी बोटबिरुवा, गमला, जैविक मल तथा बगैंचासम्बन्धी सामग्रीहरू बिक्री गरेका थिए। उपभोक्ताको उच्च मागका कारण फूल तथा बिरुवाको व्यवसाय उल्लेखनीय रूपमा वृद्धि भएको आयोजकले जनाएको छ।
एक्स्पोमा विभिन्न व्यवसायी, सरकारी तथा गैरसरकारी संस्था, र व्यक्तिगत ग्राहकहरूले आकर्षक मूल्यमा फूल तथा बोटबिरुवा खरिद गरेका थिए। बगैंचा प्रेमीहरू, कृषि क्षेत्रका विज्ञहरू तथा नयाँ व्यवसायीहरूका लागि यो एक्स्पो ज्ञान आदान–प्रदान गर्ने महत्वपूर्ण थलो बनेको थियो।
नेपालमा उत्पादित फूल तथा बिरुवालाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित एक्स्पोमा ५० भन्दा बढी स्टल राखिएको थियो। घरेलु तथा व्यावसायिक बगैंचाका लागि आवश्यक सामग्रीहरू बिक्रीमा राखिएको थियो भने सहभागीहरूले फूलखेती तथा बगैंचाको व्यावसायिक सम्भावनाबारे जानकारी लिने अवसर प्राप्त गरे।
नेपाल फ्लोरिकल्चर एशोसिएसनका अध्यक्षका अनुसार एक्स्पोले नेपालमा फूल तथा बिरुवा व्यवसायलाई प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेलेको छ। विशेषगरी सहरिया क्षेत्रमा बगैंचा तथा गमलाका बिरुवाप्रति बढ्दो रुचि देखिएको छ, जसले नेपालको हरियाली प्रवर्द्धनमा टेवा पुर्याउने विश्वास आयोजकले लिएको छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar