काठमाडौँ। घर निर्माणको क्रममा जग बनाउँदा देखी नै प्रयोगमा आउने बालुवा र गिट्टी तथा इँटाहरूको प्रयोगमा विशेष ध्यान पुर्याउनुपर्छ।
किनकी जग बलियो वा बलियो संरचनाको आधार भन्नु नै निर्माणमा प्रयोग हुने सामग्रीहरू हुन्। त्यसैले भन्ने गरिन्छ नि जग बलियो भएमा मात्र घर बलियो हुन्छ। घर निर्माणका लागि गुणस्तरीय ‘बालुवा, इँट्टा र गिट्टी’ जस्ता निर्माण सामग्रीहरू कसरी छान्न सकिन्छ? यहाँ चर्चा गरौँ,
सिमेन्ट छनोट गर्दा ध्यान दिनुपर्ने कुराहरूः
अधिकांश संरचना निर्माणमा अनिवार्य रूपमा प्रयोग हुने निर्माण सामग्री हो, ‘सिमेन्ट’। यसले बालुवा, गिट्टी र रडलाई बलियोसँग बाँधेर राख्ने काम गर्छ। बजारमा उपलब्ध सिमेन्टका सबै ब्रान्डहरूले आफूलाई अब्बल दावी गर्नेहुँदा विज्ञसँग परामर्श लिएर नै गुणस्तरीय ब्रान्डको सिमेन्ट प्रयोग गर्नु उपयुक्त हुन्छ।
‘सिमेन्ट’ नेपाल गुणस्तर चिन्ह प्राप्त भएको नभएकोमा पनि ध्यान दिनुपर्छ।
सामान्यतया उत्पादन भएको मितिबाट २ देखि ३ महिनाभन्दा बढी समय ननाघेको सिमेन्ट हुनुपर्दछ।
समय लेख्दा उत्पादन मितिको छापमा ‘ध्’ भनेको हप्ता, भनेको महिना र ‘थ्’ भनेको वर्ष भनेर लेखिएका हुन्छन्। डल्ला नपरेको अर्थात जाम नभएको सिमेन्टको प्रयोग गर्नुपर्छ।
हावा नछिर्ने बोरामा सिमेन्ट प्याक गरिएको हुनुपर्छ ।
सुख्खा र हावाले नबिगार्ने ठाउँमा भण्डारण गरिएको र ओसबाट जोगिएको हुनुपर्छ।
इँटा छनोट गर्दा ध्यान दिनुपर्ने कुराहरू
घरमा वाल, कम्पाउन्ड लगाउन, र पार्टेसन गर्नका लागि इँटा प्रयोग गरिन्छ। अधिकांश समय प्रयोग हुने इँटा छनौट गर्दा विशेषगरी यी कुराहरूमा ध्यान दिनुपर्छः
राम्ररी पाकेको चिल्लो सतह भएको इँटाको छनौट गर्ने,
एउटै आकारको, चिराहरू नपरेको रातो रंगको इँटा छनौट गर्ने,
दुई ईट्टा ठोक्दा धातुको जस्तो गुञ्जिने आवाज आउने हुनुपर्छ। यस्ता इँटाहरू पाकेको र बलियो हुन्छ।
२४ घण्टा पानीमा भिजाउँदा इँट्टाको तौलको १५% भन्दा बढी नबढ्ने हुनुपर्छ।
इँटा ३ फिटको उचाइबाट ठाडो पारी कडा सतहमा खसाल्दा नफुट्ने हुनुपर्छ।
बालुवा छनोट गर्दा ध्यान दिनुपर्ने कुराहरू
कंक्रिट, वाल जोडाई र प्लास्टरको काममा सिमेन्टमा मिसाउन बालुवा अनिवार्य रूपमा चाहिन्छ। त्यसैले बालुवाको छनोट गर्दा विशेष ध्यान पुर्याउनु पर्छ।
सफा, दानादार र खस्रो बालुवा हुनुपर्छ। बालुवामा धेरै मसिना धुलो र सिल्क अर्थात् टल्किने पदार्थ हुनु हुँदैन।
माटो र घाँसपात मिसिएको बालुवा प्रयोग गर्नु हुँदैन।
खोला, नदी तथा खानीको बालुवा प्रयोग गर्नु राम्रो हुन्छ।
बालुवामा थोरै मात्र चिसोपन भएको र अन्य वस्तु तथा चिल्लोपन र दुर्गन्ध नभएको हुनुपर्छ।
रोडा तथा गिट्टी छनौट गर्दा ध्यान दिनुपर्ने कुराहरू
घरको ढलान, पिल्लर वा बिम बनाउँदा सिमेन्ट, डन्डी, गिट्टी, बालुवा र पानीको मिश्रण मिल्नुपर्छ। मिश्रण राम्रो हुन गुणस्तरीय गिट्टीको छनोट उत्तिकै जरूरी देखिन्छ।
गिट्टी सफा र बलियो ढुङ्गा फुटाएर बनाइएको हुनुपर्छ। यस्ता रोडाहरूको सबैतिर चुच्चा धार भएको हुनुपर्छ। खोलाको गोला रोडाहरू राम्रो हुँदैन।
मसिनो, मध्यम र मोटो सबै किसिम मिसाएर बनेको रोडा प्रयोग गर्नुपर्छ।
एकैनासको रोडा नभइ मिक्स रोडा प्रयोग गर्नुपर्छ। तर १५mm जुन करिब आधा इन्चदेखि २५mm अर्थात् करिब एक इन्चका मिक्स रोडाहरू राम्रा हुन्छन्।
डण्डी (रड) छनोट गर्दा ध्यान दिनुपर्ने कुराहरू
रडलाई घरको बलियोपनसँग जोडेर हेरिन्छ। भूकम्प प्रतिरोधि घर बनाउनको लागि सही मात्रामा सही ठाउँमा डन्डी हाल्न अति आवश्यक हुन्छ।
खिया नलागेको, बङ्गयाउँदा नभाँच्चिने, पूरै लम्बाइमा कतै चिरा नपरेको एकनासको मोटाइ वा व्यास भएको लचकदार डण्डीहरूको प्रयोग गर्नुपर्दछ।
दुई पटक बङ्ग्याउदा भाँचिने खालको डण्डी प्रयोग गर्नुहुँदैन। यीनीहरूले घरलाई सुरक्षित बनाउँदैनन्।
कम्पनीको छापमा डण्डीको तौल र गुणस्तर उल्लेख गरेको डण्डी प्रयोग गर्नुपर्छ।