काठमाडौँ। हामीले घर बनाउँदा नक्सा डिजाइनको पाटोलाई ध्यान दिनुपर्छ।
घर बनाउनको लागि घरधनीको जग्गा र आवश्यकतालाई नगरपालिका/गाउँपालिकाको भवन निर्माण संहिता र मापदण्ड अनुसरण गरेर नक्सामा उतार्ने कार्य नक्सा डिजाइनमा पर्दछ। भवन डिजाइन तथा निर्माणमा संलग्न प्राविधिकको सहयोगले घर नक्सा डिजाईन गरिन्छ। सो नक्साको मद्दतले ठेकेदार/निर्माणकर्मीले भवन निर्माण गर्न सक्दछ। नयाँ घर बनाउन, तला थप्न र भवनमा केही परिवर्तनहरू गर्नुपरेमा नक्सा डिजाइन गर्नुपर्दछ।
नक्सा डिजाइनमा ध्यान दिनुपर्ने कुराहरू देहाएअनुसार छन्ः
(क) अमिनबाट आफ्नो जग्गाको लम्बाइ, चौडाइ, चार किल्ला, भिरालोपन, घडेरीसँगैकोबाटोको नाप लिने/जाँच गराउने ।
(ख) खानेपानी, ढल निकास, बत्ती, टेलिफोन आदिको कस्तो व्यवस्था छ भन्ने बारे जानकारी लिने।
(ग) नक्सा डिजाइन गर्नु अघि सम्बन्धित घरधनीले आफ्नो आवश्यकता र आर्थिक क्षमताबारे आफ्नो परिवारसँग छलफल गर्ने।
(घ) भवन निर्माण अनुमति प्रक्रिया र स्थानीय भवन मापदण्डको बारेमा जानकारी भएको प्राविधिकलाई मात्र नक्सा बनाउन दिने।
(ङ) नक्सा बनाउँदा आफूपनि सक्रिय रूपमा सहभागी हुँदै प्राविधिकसँग घर सम्बन्धित आफना सबै आवश्यकता र आर्थिक क्षमताबारे खुलस्त छलफल गर्ने।
(च) घर बनिसकेपछि परिवर्तन गर्न गाह्रो हुने भएकाले नक्सा बनाउँदा चाहिने जति समय दिएर आवश्यक परिवर्तन गर्ने। घर निर्माणको क्रममा केही परिवर्तन गर्नुपरेमा नगरपालिका गाउँपालिकाबाट पुनः स्वीकृति लिनुपर्दछ।
प्राविधिकसँग छलफल गर्दा ध्यान दिनुपर्ने कुराहरूः
(क) घरमा बढि समय बिताउने ठाँउमा घाम र हावा पर्याप्त मात्रामा हुनुपर्ने सम्बन्धमा।
(ख) इनार, पानी ट्याङ्की, सेप्टिक ट्याङ्की आदिको स्थानले अरू कार्यमा बाधा नपुग्ने सम्बन्धमा।
(ग) आफ्नो साँस्कृतिक पक्ष र धार्मिक आस्था अनुसार भान्छा, पूजाकोठा, सुत्नेकोठा आदि निर्धारण गर्ने सम्बन्धमा।