काठमाडौँ। बेनी नगरपालिका–६को एक्लेपिपलबाट जम्रेनी क्षेत्रमा बाटो खुलेको २५ वर्षपछि सडक कालोपत्र भएको छ।
बेनी नगरपालिकाले बेनी–पात्लेखेत सडक आयोजनामार्फत एक्लेपिपलबाट जम्रेनी क्षेत्रको सडक कालोपत्र र ढलानसहित स्तरोन्नति गरेको हो। बेनी–६ का वडाध्यक्ष कृष्णसिंह बानियाँका अनुसार यहाँ २०५६ सालमा सडकको सडक निर्माण गरिएको हो।
सडक स्तरोन्नति भएपछि आवतजावत गर्न सहज भएको छ। यो सडक निर्माणका लागि गत आर्थिक वर्ष २०८०/८१ मा रू १ करोड ३४ लाख ६६ हजार ९ सय २९ मा निर्माण कम्पनीसँग सम्झौता भएको थियो। ७ सय मिटर प्रिमिक्स प्रविधिको कालोपत्र, १ सय २५ मिटर ढलान, ७ सय मिटर पानी निकासका लागि नाली र ६ सय मिटर पर्खाल निर्माण गरिएको छ।
यो सडकले बेनी नगरपालिका–६, ९, १० हुँदै रघुगङ्गा गाउँपालिका–५, ६ र ८ नम्बर वडालाई जिल्ला सदरमुकामसँग जोडेको छ। साथै, गण्डकी प्रदेश सरकारको बजेटमा पूर्वाधार विकास कार्यालयले रू १० करोड १६ लाख १ हजार ३ सय ६४ को लागतमा बेनी–पाखापानी सडकको भुतेदैला–नेप्टेचौर–तोरीपान खण्डमा ४ किलोमिटर सडक स्तरोन्नति गर्ने आयोजना सञ्चालन गरेको छ।
नगरपालिकाले चालु आर्थिक वर्षमा रू ३ करोड बजेट विनियोजन गरेको बेनी–पात्लेखेत सडकको तोरीपानीबाट पात्लेखेततर्फ स्तरोन्नतिको तयारी गरेको नगरपालिकाले जनाएको छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar