ठूलाको ‘मनोमानीले ’ माओवादीका युवा नेतामा निराशा,

पुष २४, काठमाडाैँ । राष्ट्रियसभामा उम्मेदवार छनोटको विषय विवादमा तानिएको छ । सत्ता गठबन्धनका सबै दलमा देखिएको यो विवाद नेकपा माओवादीमा थप उच्च देखिन्छ । माओवादीका राम्रै नाम चलेका नेताहरुले नै उम्मेदवार छनोटमा मनपरि गरिएको भन्दै आलोचना गरिरहेका छन् । के माओवादी भित्र नेता व्यवस्थापनमा मनपरितन्त्र हावि भएकै हो त ?

नेकपा माओवादी केन्द्रले सत्ता गठबन्धनमा राष्ट्रियसभाका लागि पाएको ६ सिटमा उम्मेदवार तय गरेपछि यसबारे माओवादीमा नयाँ कोणबाट बहस शुरु भएको छ । नेकपा माओवादी केन्द्रले कोशीबाट चम्पादेवी कार्की, बागमतीबाट श्रीकृष्ण अधिकारी, गण्डकीबाट मनरुपा शर्मा, लुम्बिनीबाट झक्कु सुवेदी, कर्णालीबाट विष्णु विश्वकर्मा र सुदूरपश्चिमबाट रेणु चन्दलाई उम्मेदवार बनाउने निर्णयसँगै मनोनयन दर्ता समेत भइसकेको छ । यसरी राष्ट्रियसभा निर्वाचनमा होमिएको माओवादीले पठाएका उम्मेदवारबारे विभिन्न पक्षबाट बहस भएपनि चार महिने अभियान समापन गरेको केही समयभित्रै गरिएको उम्मेदवार चयनको प्रक्रियामा स्वभाविक रुपमा आक्रोश, कुण्ठा, आवेग र समष्टीगत रुपमा समर्थनको समिश्रण बाहिरिने क्रम चलिरहेको छ ।

राष्ट्रियसभामा माओवादी केन्द्रको पदाधिकारीले उम्मेदवार सार्वजनिक गरेपछि युवा पुस्ताका नेताहरुमाथि अपमान र विभेद गरिएकोदेखि सडकका मान्छेलाई सत्ताले नरुचाउनेसम्मका प्रतिक्रिया सार्वजनिक भएका छन् । राष्ट्रियसभामा लैजान उपर्युक्त पात्रको रुपमा चर्चा चलाइएका नेकपा माओवादी केन्द्रका नेता तथा योङ कम्युनिष्ट लीग नेपालका इन्चार्ज रामप्रसाद सापकोटा ’दिपशिखा’ले त सार्वजनिक रुपमै असन्तष्टि सार्वजनिक गरेका छन् । उनले सामाजिक सञ्जालमा आक्रोशपूर्ण भावमा आन्दोलन र सडकका मानिसहरु सत्तामा अटाउदैनन् र रुचाइदैनन् भन्दै व्यङ्ग्य कसेका छन् ।

यता, यसरी नै राष्ट्रियसभामा अहिलको आवश्यकता भन्दै नाम चलाइएका मध्येका नेता लेखनाथ न्यौपानेले भने फरक विचार पेश गर्नेमा पर्छन् । पार्टी र राज्य सत्तामाथि प्रायः आक्रोश पोखिरहेका भेटिने नेता न्यौपानेले विचार, राजनीति, संस्कृति र संगठनात्मक पद्धतिमा बहस गरौं । तर, पद पाइन भनेर बौलाउने काम नगरौं भन्दै पार्टी पंक्ति र नेताहरुमा देखिएको आक्रोशमाथि नै प्रहार गरेका छन् ।

यी दुई नेताहरुका प्रतिक्रियाको चर्चा प्रतिनिधि पात्र मात्रै हुन् । माओवादी केन्द्रले उम्मेदवार चयनको प्रक्रिया कति निष्पक्ष र सर्वस्वीकार्य बनाउन सक्यो भन्ने कुरा भने मूल विषय हो । राजनीति एक प्रदेशबाट पद अर्को प्रदेशबाट हुने गरि उम्मेदवारी छनोट गरिएको भन्दै केहि नेताहरुमा आक्रोश देखिएपनि सार्वजनिक तहसम्मै पुग्ने गरि भने यो बहस बाहिरिन सकेको देखिन्न ।

माओवादीमा निराशा

माओवादी केन्द्रभित्र उम्मेदवार छनोटको विषय होस वा राजनीतिक नियुक्तिका विषयमा नै किन नहोस, आम नेताहरुमा उत्साह र पार्टीले सहि ग¥यो भन्ने भावना देखिन्न । दोश्रो तेश्रो पुस्ताका नेताहरु चरम निराशामा देखिन्छन् । पार्टीको आकार घट्दै गएपनि आकांक्षी र सत्ताको वरिपरि बस्नेहरुले कब्जा जमाएकोमा उनीहरुको मुख्य चिन्ता देखिन्छ । यस्तो किन हुन पुग्यो ? यो विषयमा माओवादी केन्द्रभित्र खुलेर बहस भने कठिन देखिन्छ ।

उचित व्यक्तिलाई उचित जिम्मेवारी दिने मामलामा माओवादी केन्द्रको नेतृत्व चुक्दै गएको र संसददेखि सरकारमा समेत नेतृत्वको वरिपरि हुनेहरु नै देखिन थालेपछि माओवादीमा संकट, नेतृत्व जाम र दलालीको जालो फैलिएको पाइन्छ ।

उम्मेदवार छनोटको मापदण्ड मनोमानी

माओवादी केन्द्रले राष्ट्रियसभामा उम्मेदवार छनोट गर्दा अवसर नपाएका तर पार्टीमा विशेष योगदान पु¥याएकालाई मौका दिने बताइएको थियो । माओवादी प्रवक्ता अग्नीप्रसाद सापकोटाले नयाँ, अनुभवी र योग्य उम्मेदवारलाई पठाउने दाबी गरेको माओवादीले पठाएका उम्मेदवारहरुको विषय भने पार्टीभित्रै विवादमा तानिएको छ ।

पार्टीले उम्मेदवार छनोट गर्दा मापदण्डमा आधारित भएर काम गर्ला भन्ने अपेक्षा गरिएको थियो । तर, पदाधिकारी बैठकको निर्णय भन्दै धमाधम नाम सार्वजनिक गरियो । जसमा युवाहरु देखिएनन् । यसले समग्र माओवादी आन्दोलनलाई मात्रै नभई सिंगो विषयलाई नै प्रभाव त पार्दैन भन्ने आशंका छ । यसरी हेर्दा माओवादीभित्र उम्मेदवार छनोटको मापदण्डलाई अहिले ’मनोमानी’को संज्ञा दिन थालिएको छ ।

भिडियो साभार NEWS24 


प्रतिक्रिया