काठमाडौँ। म्याग्दीको मालिका गाउँपालिकाको ६ सय बढी घरमा केन्द्रीय प्रसारण लाइनको विधुत सुविधा विस्तार भएको छ।
नेपाल विधुत प्राधिकरणले मालिकाको वडा नम्बर १ छिस, रिठेचौर, २ को रुम, बेली, जेम, घाङ्लेपानी, वडा नम्बर ३ को लुप्सीपार, पात्ले, खतेन र ४ नम्बर वडाको ओखरबोटमा विधुतीकरण गरेको हो।
मालिका–२ रुम, बेली, जेम, घ्याङ्लेपानीमा दुई ५६, मालिका–३ खतेनमा ५०, लुप्सीपारमा ५४, पात्लेका एक सय २०, मालिका–४ ओखरबोटमा १ सय २ घरमा बिजुली बलेको नेपाल विधुत प्राधिकरण म्याग्दीले जनाकारी दिएको छ। प्राधिकरणको विधुतीकरण कार्यक्रमअन्तर्गत पहिलो चरणमा मालिकाका ४ वटा वडामा बत्ती बलेको हो।
म्याग्दीका १४ स्थानका २ हजार १ सय ८३ घरधुरीमा राष्ट्रिय प्रसारण लाइनको विधुत सुविधा विस्तारका लागि रू २२ करोड बजेटको योजना सञ्चालन भएको छ। घ्याङलेपानी बाहेकका बस्तीका बासिन्दाले यसअघि उज्यालोका लागि लघुजलविधुत परियोजनाको विधुत प्रयोग गरेका थिए।
वर्षौँको प्रयासपछि बिजुली बलेपछि स्थानीयमा खुसीयाली छाएको छ। मालिका गाउँपालिकाको वडा नम्बर ३ मा पर्ने पात्ले, लुप्सीपार, किटेनी, डाडागाउँ, औला, सेउलीबाङ, अदिभारा, इग्रे, खतेन बस्तीका तीन सय २५ घरमा विधुतीकरण भएको नेपाल विधुत प्राधिकरण म्याग्दीले जनाएको छ।
केन्द्रीय लाइनको विद्युत् सुविधा भएपछि स्थानीयलाई घरायसी कामकाज गर्न, विद्यालयमा कम्प्युटर कक्षा सञ्चालन र सार्वजनिक सेवा प्रवाहमा सहज भएको मालिका–३ पात्लेकी बालकुमारी रोकाले बताइन्।
विधुत सुविधा विस्तारका लागि ४७.६ किलोमिटर मुख्य, एक सय २६ किलोमिटर शाखा लाइन विस्तार र २० वटा ट्रान्सफर्मर जडान गर्न २०८० असोजमा रविन्द्र÷ढुङ्गाना जेभीसँग रू ३ करोड ५४ लाखमा ठेक्का सम्झौता भएको थियो।
सोही ठेक्कामार्फत मुख्य, शाखा लाइन विस्तार गर्न पोल गाड्ने, तार तान्ने, ढुवानी गर्ने, ट्रान्सफर्मर ढुवानी र जडान गरिएको हो। मिटरबक्स जडान र वायरिङको काम उपभोक्ता आफैँले गरेका थिए।
आर्थिक वर्ष २०८०र८१ मा म्याग्दीका ११ स्थानमा १ हजार ४ सय ३८ उपभोक्ता थपिएका विधुत प्राधिकरण म्याग्दी वितरण केन्द्रले जनाएको छ। गत वर्ष थपिएका सहित केन्द्रमा २३ हजार ग्राहक रहेका छन्।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar