काठमाडौँ । नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासंघ, र अन्य सरोकारवाला निकायले आयोजना गरेको 'स्टार्टअप नेसन २०३०' सम्मेलनमा प्रमुख अतिथिका रूपमा उपस्थित अध्यक्षज्यूले स्टार्टअप नीति, निजी क्षेत्रका चुनौतीहरू, र भविष्यका सम्भावनाहरूको बारेमा महत्वपूर्ण मन्तव्य व्यक्त गर्नुभयो।
अध्यक्षज्यूले आफ्नो मन्तव्यमा नेपालमा स्टार्टअपको कानुनी परिभाषा स्पष्ट भएको र यसको कार्यान्वयनमा सरकारले महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा प्रशंसा व्यक्त गर्नुभयो। “करिब एक दशकपछि स्टार्टअप कानुनी रूपमा परिभाषित भएको छ, र चार महिनाअघि मात्र औद्योगिक व्यवसाय ऐनमा यसलाई समावेश गरिएको छ,” उहाँले भन्नुभयो।
उहाँले स्टार्टअप नीति पारित भएपछि सरकारले यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न र युवाहरुलाई सहायताका लागि एक अर्ब २५ करोड रुपैयाँ बजेटमा छुट्याइएको जानकारी दिनुभयो। साथै, अध्यक्षज्यूले अमेरिकामा सन् १९८० देखि २०१० सम्म स्टार्टअपहरूले २५ मिलियन रोजगारी सिर्जना गरेको तथ्यलाई उद्धृत गर्दै नेपालले पनि यस्तै सफलता हासिल गर्न सक्ने बताउनुभयो।
बंगलादेशको उदाहरण प्रस्तुत गर्दै, अध्यक्षज्यूले भने, “बंगलादेशजस्तो अति कम विकसित मुलुकले पनि हरेक वर्ष करिब १० अर्ब रुपैयाँ स्टार्टअपमा लगानी गर्न थालेको छ। यो तथ्यले नेपालमा पनि स्टार्टअपको विकासका लागि ठूलो सम्भावना रहेको संकेत गर्दछ।”
नेपालमा ६५ प्रतिशत जनसंख्या १५ देखि ६४ वर्षको उमेर समूहमा रहेको बताउँदै, अध्यक्षज्यूले युवाहरुलाई उद्यमशीलतामा संलग्न गराउन इन्कुवेसन र इनोभेसन केन्द्रहरूको स्थापना गर्ने महत्वलाई जोड दिनुभयो। महासंघले सुदूर पश्चिम प्रदेशमा इन्कुवेसन केन्द्र स्थापना गर्ने प्रक्रिया सुरु गरेको उहाँले जानकारी दिनुभयो।
सम्मेलनमा अध्यक्षज्यूले नेपालमा निजी क्षेत्रको महत्वलाई उजागर गर्दै, निजी क्षेत्रलाई अवरोध नहुने गरी नीति सुधारका लागि सरकारसँगको सहकार्यलाई बढावा दिने कुरा उल्लेख गर्नुभयो। उहाँले निजी क्षेत्रलाई निरुत्साहित गर्ने कुनै पनि नियामक व्यवस्थाको विरोध गर्दै, आर्थिक वृद्धिमा यसले असर गर्ने चेतावनी दिनुभयो।
अध्यक्षज्यूले नेपालमा स्टार्टअपको सम्भावना बारे कुरा गर्दै भने, “नेपालले तिव्र आर्थिक विस्तार गर्ने सम्भावना छ। दुई ठूला दल मिलेर राजनीतिक र नीतिगत स्थिरताको प्रतिबद्धता जनाएका छन्। यस्तो अवस्थामा, हामीले निजी क्षेत्रलाई फस्टाउन सहयोग गर्नुपर्नेछ।”
सम्मेलनमा अध्यक्षज्यूले आगामी लगानी सम्मेलनहरू र अन्तर्राष्ट्रिय फोरमहरूको आयोजनाबाट विदेशी लगानीकर्ताहरूलाई आकर्षित गर्ने योजना पनि प्रस्तुत गर्नुभयो। उहाँको मन्तव्यले नेपाल, अमेरिका, र बंगलादेशका अनुभवहरूलाई समेटेर नेपालको स्टार्टअप इकोसिस्टमलाई थप बलियो बनाउन र निजी क्षेत्रको भूमिकालाई बढावा दिन महत्वपूर्ण संदेश दिएको छ।
#startupnation2030