काठमाडौं | नेपाल जग्गा तथा आवास विकास महासंघले आफ्नो तेस्रो स्थापना दिवस भव्य रूपमा मनाएको छ। सम्पूर्ण देशभर छरिएर रहेका रियल इस्टेट व्यवसायीहरूको साझा छाता संगठनको रूपमा स्थापित यस महासंघले शुक्रबार काठमाडौंको एलफ्ट होटल, छायाँ सेन्टर ठमेलमा औपचारिक कार्यक्रमका साथ तेस्रो वार्षिकोत्सव सम्पन्न गरेको हो।
कार्यक्रमको उद्घाटन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले गर्नु भएको थियो। कार्यक्रममा मन्त्री अधिकारी प्रमुख अतिथिको रूपमा सहभागी हुनुका साथै, रियल इस्टेट क्षेत्रसँग सम्बन्धित समस्या समाधानमा सरकारको सक्दो प्रयास हुने विश्वास दिलाउनुभयो।
महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, व्यवसायी, सरोकारवाला निकायका व्यक्तिहरूको उपस्थिति रहेको थियो। सहभागी अतिथिहरूले महासंघको विगतको यात्रा र आगामी दिनमा यसले खेल्ने भूमिकाबारे सकारात्मक धारणा राख्दै उत्तरोत्तर प्रगतिका शुभकामना व्यक्त गरे।
अध्यक्ष घिमिरेले स्थापना कालदेखि नै महासंघले नेपालको रियल इस्टेट क्षेत्रलाई व्यवस्थित, सुरक्षित र समावेशी बनाउने प्रयासमा प्रतिबद्ध भएर काम गरिरहेको उल्लेख गर्दै सबै व्यवसायीहरूको साझा मञ्चका रूपमा महासंघको भूमिका अझ प्रभावकारी बनाउने लक्ष्य रहेको बताए।
कार्यक्रममा जग्गा तथा आवास क्षेत्रसँग सम्बन्धित चुनौती, नीति सुधार, सरकारी सहकार्य तथा व्यवसायीहरूको हित संरक्षणजस्ता विषयमा छलफल पनि गरिएको थियो।