काठमाडौँ। बढ्दो मन्दीका कारण काठमाडौँ उपत्यकाको घरजग्गाको कारोबारमा गिरावट आएको छ। आर्थिक वर्षको सुरूवात देखि उपत्यकामा घरजग्गा कारोबार (लिखत पारित) निरन्तर घट्दै गइरहेको छ।
गत आर्थिक वर्षको अन्तिम महिना (असार २०८१) उपत्यकाका तीन जिल्लामा ४९ सय घरजग्गाको लिखत पारित भएको थियो। कारोबार संख्या बढेसँगै घरजग्गा खरिद बिक्री बढ्दै जाने अपेक्षा गरिएको थियो तर, चालु आ.व. को पहिलो महिना (साउन २०८१) मा घरजग्गा कारोबार खुम्चिएर ३९ सय २१ मात्रै लिखत पारित भए।
त्यसयता उपत्यकामा घरजग्गा कारोबार निरन्तर ओरालो लागिरहेको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकले देखाउँछ। भदौ महिनामा ३६ सय २३, अशोजमा ३१ सय ९४ र कात्तिकमा २७ सय ९ घरजग्गाको लिखत पारित भएको छ।
गत आ.व.को पहिलो ४ महिनासँग तुलना गर्दा भने चालु आ.व. सोही अवधिमा करिव बराबार घरजग्गा किनबेच भएका छन्। गत आ.व.को साउनदेखि कात्तिकसम्म १३ हजार ३६२ घरजग्गाको लिखत पारित भएकोमा यस वर्ष १३ हजार ४४७ लिखत पारित भएका छन्।
कर्जाको ब्याजदर घट्दा पनि कारोबार अझै ठप्प
गत वर्षको तुलनामा यस वर्ष बैंक तथा वित्तीय संस्थाहरुमा कर्जाको ब्याजदर घट्नुको साथै राष्ट्र बैंकले कर्जा लगानीमा समेत सहजीकरण गरेको हुँदा कारोबार बढ्ने अपेक्षा गरिएको थियो।
अहिले घरजग्गा कर्जाको ब्याजदर साढे सात प्रतिशतसम्म झरेको छ। विकास बैंकहरूले नै हरित घरकर्जा भनेर ७ प्रतिशतको ब्याजदर रेञ्जमै कर्जाका स्किमहरू उपलब्ध गराएका छन्।
जतिसुकै ब्याजदर घटेता पनि बैंकमा भने कर्जा बढ्न सकेको अवस्था छैन। रियल इस्टेट कर्जा बढ्नुको सट्टा उल्टै खुम्चिएको छ। अधिकतम दुई करोडसम्मको व्यक्तिगत आवासीय घरकर्जा पनि उल्लेखनिय रूपमा बढ्न सकेको छैन।
२०८१ असार मसान्तसम्म रियल इस्टेट शिर्षकमा कुल २ खर्ब ६८ अर्ब १२ करोड रूपैयाँ कर्जा प्रवाह भएको थियो। तर, असोज मसान्तसम्म आइपुग्दा रियल इस्टेट कर्जा खुम्चिएर २ खर्ब ६८ अर्ब ७ करोडमा सिमित भएको छ।
गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा चालु आ.व.को पहिलो त्रैमासमा व्यक्तिगत आवासीय घरकर्जा प्रवाह ६३ प्रतिशतले घटेको छ। राष्ट्र बैंकको रिपोर्ट अनुसार, गत आ.व.को पहिलो त्रैमासमा बैंकहरूले २६ अर्ब ७७ करोड रूपैयाँ व्यक्तिगत आवासीय कर्जा प्रवाह गरेकोमा यस वर्ष यो घटेर ९ अर्ब ८६ करोड रूपैयाँमा सीमित भएको देखिन्छ।
पछिल्लो समय उपत्यकाका मालपोत कार्यालय घरजग्गा कारोबार संख्यामा झापा, मोरङ, सुनसरी, धनुषा, दाङ, बाँके, कैलाली लगायत जिल्लाका मालपोत कार्यालयले धेरै पछाडि पार्न थालेका छन्। घरजग्गा कारोबार संख्या उपत्यका बाहिर बढी भएपनि राजश्व संकलन भने अझै काठमाडौँ उपत्यकाभित्रै सबैभन्दा धेरै हुने गरेको छ।
उपत्यकाभित्र कहाँ किनबेच बढी?
उपत्यकामा मुख्य शहरी क्षेत्रमा भन्दा बाहिर बढी घरजग्गा किनबेच भइरहेको भूमि व्यवस्थापन विभागको तथ्यांकले देखाउँछ। चालु आ.व.को पहिलो चार महिनामा सबैभन्दा धेरै घरजग्गा भक्तपुर मालपोत कार्यालयबाट भएकका छन्। चार महिनामा भक्तपुरमा ३१ सय २४ घरजग्गाको लिखत पारित भएको छ।
दोस्रो धेरै घरजग्गा किनबेच गर्ने मालपोतमा ललिपुरको लगनखेल मालपोत रहेको देखिन्छ। चार महिनामा लगनखेल मालपोतबाट २९ सय १६ घरजग्गाको लिखत पारित भएका छन्। ललितपुरको गोटीखेलमा मालपोत कार्यालय भए पनि नगन्य चार महिनामा ३४ लिखत पारित भएका छन्।
काठमाडौँमा ६ वटा मालपोत कार्यालय छन्, जसमा सबैभन्दा धेरै कलंकी मालपोत कार्यालयबाट घरजग्गाको लिखत पारित भएको देखिन्छ। कलंकीबाट चार महिनामा २२ सय ५१ लिखत पारित भएका छन्। यो मालपोतमा थानकोट, दहचोक, कीर्तिपुर, चाल्नाखेल हुँदै दक्षिणकालीसम्मको घरजग्गाको किनबेच हुने गर्छ।
चाबहिल मालपोतबाट १५ सय ९९, साँखु मालपोतबाट १ हजार ३३, मनमैंजु मालपोतबाट १२ सय ८१, टोखा मालपोतबाट ५२५ घरजग्गाको लिखत पारित भएको विभागको तथ्यांक छ। उपत्यकाकै कोर सिटी एरियाको घरजग्गा किनबेच गराउने डिल्लीबजार मालपोतबाट चार महिनमाा ६८४ घरजग्गाको लिखत पारित भएका छन्।
काठमाडौंका साँखु र भक्तपुरका कुनाकाप्चातिर अहिले सबैभन्दा धेरै घरजग्गा किनबेच भइरहेको देखिन्छ।