३० व्यावसायिक संस्थालाई ‘सीआईपी’ सम्मान प्रदान

काठमाडौँ । नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले देशको निर्यात वृद्धि, उद्योग प्रवर्द्धन र समग्र आर्थिक योगदानको कदर गर्दै ३० कम्पनी तथा व्यवसायिक संस्थालाई महत्वपूर्ण व्यवसायिक व्यक्ति (CIP) को सम्मान प्रदान गरेको छ। बुधबार नेपाल उद्योग वाणिज्य महासंघको सहकार्यमा काठमाडौँमा आयोजित विशेष कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सम्मान प्रदान गरे।

सम्मानितमध्ये २१ वटा निजी कम्पनी तथा व्यवसायिक फर्महरू रहेका छन् भने ९ वटा व्यवसायिक प्रतिनिधिमूलक संघ–संस्थाहरूले मानार्थ सीआईपी प्राप्त गरेका छन्। सम्मान प्राप्त गर्नेहरूमध्ये नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल, र नेपाल उद्योग परिसंघका पूर्वअध्यक्ष राजेश अग्रवाल सहितका संस्थापक व्यवसायी प्रतिनिधिहरू रहेका छन्। उनीहरूलाई नेपालको वाणिज्य तथा निर्यात प्रवर्द्धनमा खेलेको भूमिकाको उच्च मूल्यांकन स्वरूप सम्मान गरिएको हो।

तेस्रो मुलुकतर्फ उच्च निर्यात गर्ने उद्योगहरू जस्तै थर्ड आई इन्टरनेशनल, नेपाल फेशन प्रालि, नेशनल एक्सपोर्टर्स प्रालि, मनराम हिमालयन हेण्डिक्राफ्ट, र ट्राइकोट इन्डष्ट्रिज लगायतका कम्पनीहरूलाई सीआईपी सम्मान प्रदान गरिएको हो। त्यस्तै भारत र चीनतर्फ निकासीमा योगदान दिने डाबर नेपाल, रिलायन्स स्पिनिङ मिल्स, आरती स्ट्रीप्स, छोमेन ट्रेडर्स, फिन्जो सोनाम इन्टरप्राइजेज, र अष्टमंगल काठमाडौं जस्ता कम्पनीहरू पनि सम्मानित भए।

कम्पनीको समग्र सामाजिक–आर्थिक योगदानको मूल्यांकन गर्दै हस्तकला, जडिबुटी, कृषिजन्य वस्तु, महिला उद्यम, स्टार्टअप, पर्यटन र विप्रेषण कारोबारमा विशेष योगदान पुर्‍याउने कम्पनीहरूसमेत सीआईपी सूचीमा परेका छन्। जनकपुर रिफाइनरिज, गिफ्ट ल्याण्ड इन्टरप्राइजेज, नेपाल एभरेष्ट कार्डमम, एबी हर्बल ट्रेडर्स, माइण्डफुल क्राफ्ट, आईएमई लिमिटेड, र एभरेष्ट हस्पिटालिटी होटल लिमिटेड सम्मान प्राप्त गर्ने संस्थाहरूमा पर्छन्।

कार्यक्रममा मन्त्री भण्डारीले सीआईपी सम्मानले निजी क्षेत्रको मनोबल बढाउँदै देशको आर्थिक विकासमा थप योगदान पुग्ने विश्वास व्यक्त गरे। उनले एलडीसी ग्राजुएसनको तयारी अन्तर्गत सरकार र निजी क्षेत्रबीच सहकार्यमा आधारित रणनीति आवश्यक रहेको बताउँदै निजी क्षेत्रलाई सम्मानका साथ अघि बढाउने प्रतिबद्धता दोहोर्याए।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकालले नेपालको निर्यात १० खर्ब रुपैयाँसम्म पुर्‍याउने सम्भावना रहेको बताउँदै हाल भइरहेको नीति सुधार र निजी क्षेत्रप्रतिको सरकारको समर्थनप्रति आभार व्यक्त गरे। उनले हरेक दुई वर्षमा सीआईपी सम्मानलाई “CIP Day” का रूपमा मनाउन प्रस्ताव समेत राखे।

यस सम्मान कार्यक्रमले निजी क्षेत्रलाई औपचारिक मान्यता दिँदै व्यवसायमा सम्मानपूर्वक संलग्न हुन प्रेरणा दिने विश्वास व्यक्त गरिएको छ। साथै, नेपालको आर्थिक समृद्धिमा निजी क्षेत्रको भूमिकालाई अझ प्रभावकारी बनाउने उद्देश्यले यस्ता सम्मान कार्यक्रमलाई नियमित गर्नुपर्ने धारणा पनि राखिएको छ।

प्रतिक्रिया