पुष - बैंकहरूमा अहिले रकम थुप्रिएको र कर्जाको ब्याजदर घटेकाले पुसमा कर्जा लगानी बढ्ने अपेक्षा गरिएको थियो। तर त्यस्तो सम्भावना कम देखिएको छ।
अहिले बैंकहरूमा ६ खर्ब रूपैयाँ हाराहारी लगानी योग्य रकम थुप्रिएको छ। तर यो महिना पनि बैंकहरू कर्जा लगानीभन्दा असुलीमै बढी केन्द्रित हुने देखिएको छ।
विशेषगरी पुस आर्थिक वर्षको दोस्रो त्रैमासको अन्तिम महिना भएकाले बैंकहरू कर्जा असुलीमै धेरै केन्द्रित हुने नेपाल बैंकर संघका अध्यक्ष सुनील केसीले बताए।
'बैंकहरूबाट जाने कर्जामा सामान्य वृद्धि देखिएको छ तर अपेक्षा गरेजति भएको छैन,' एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) समेत रहेका केसीले भने, 'खराब कर्जा उच्च भएकाले अहिले यो पुसमा बैंकहरूको ध्यान कर्जा असुलीमा बढी छ।'
चालु आर्थिक वर्षको पहिलो त्रैमासमै (साउन-भदौ-असोज) बैंकहरूको खराब कर्जा उच्च दरमा बढेर औसत ३.३३ प्रतिशत हाराहारी पुगेको थियो। केही बैंकहरूको यस्तो खराब कर्जा ४–५ प्रतिशतसम्म पुगिसकेको छ।
यही कारण पनि दोस्रो त्रैमासमा (कात्तिक-मंसिर-पुस) वित्तीय विवरणमा सुधार भएको देखाउन बैंकरहरूले पुसमा कर्जा असुलीमा ध्यान दिइरहेका छन्।
बैंकहरूले पुस महिनाबाटै निक्षेपको ब्याजदर समेत घटाएका छन्। गत कात्तिकमा बैंकहरूले मुद्दती निक्षेपमा अधिकतम ११.००२ प्रतिशतसम्म ब्याजदर दिएका थिए।
पुसका लागि भने बैंकहरूले अधिकतम ९.६ प्रतिशतसम्म ब्याजदर प्रस्ताव गरेका छन्। वाणिज्य बैंकहरूको यस्तो औसत ब्याजदर ८.९९ प्रतिशत कायम भएको छ।
यसले कर्जा लगानी बढ्ने अनुमान गरिए पनि कर्जा मागमा भने वृद्धि नदेखिएको बैंकरहरू बताउँछन्। उनीहरूका अनुसार अहिले शैक्षिक कर्जा, निर्माणाधीन होटल तथा हाइड्रोपावर आयोजनाहरूमा केही कर्जा गइरहेको छ।
सामान्य समयमा दोस्रो त्रैमास सकिन लाग्दा घर कर्जाहरूको माग बढ्ने हो। तर चालु आर्थिक वर्षको यो अवधिमा त्यस्तो नदेखिएको बैंकरहरूले बताएका छन्। सवारी कर्जा पनि खासै जान सकेको छैन।
नेपालको अर्थतन्त्र आयातमा आधारित भएको र यसमा अपेक्षित वृद्धि नभएकाले पनि कर्जाको माग बढ्न नसकेको बैंकरहरूको विश्लेषण छ।
'ब्याजदर घटे पनि कर्जाको माग बढेको छैन,' सिइओ केसीले थपे, 'अपेक्षा गरेअनुसार आयात नबढेकाले पनि कर्जा लगानीमा समस्या देखिन्छ।'
अहिले आयातमा सामान्य सुधार भने भइरहेकै छ। राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार मंसिरमा एक खर्ब ३० अर्ब रूपैयाँ हाराहारीको आयात भएको छ। कात्तिकमा एक खर्ब चार अर्ब रूपैयाँको आयात भएको थियो भने असोजमा एक खर्ब ४८ अर्ब रूपैयाँको आयात भएको थियो।
बैंकहरूले जारी गर्ने कर्जाको ४५ प्रतिशत बराबर रकम प्रत्यक्ष/अप्रत्यक्ष आयातका लागि जाने गरेको मानिँदै आएको छ।
तर प्रत्यक्ष आयातकै लागि जाने कर्जा समेत बढ्न नसकेको बैंकरहरूको भनाइ छ।
राष्ट्र बैंकले जारी गरेको कात्तिकसम्मको तथ्यांकअनुसार भने आयातकै लागि जाने कर्जाको वृद्धिदर सबभन्दा धेरै, १८ प्रतिशतसम्म देखिएको थियो। अघिल्लो वर्षको कात्तिकमा ८२ अर्ब रूपैयाँ बराबरको ट्रस्ट रिसिट तथा आयात कर्जा गएको थियो। यो वर्ष कात्तिकमा भने ८७ अर्ब रूपैयाँ बराबरको यस्तो कर्जा गएको छ।
अहिले निक्षेप बढिरहे पनि कर्जामा सोही अनुपातमा वृद्धि देखिएको छैन। बैंकहरूको कर्जा-निक्षेप अनुपात ८० प्रतिशतभन्दा कम भइसकेको छ। अहिले यस्तो अनुपात ७९.८९ प्रतिशत छ।
केही समयअघिसम्म एकाध बैंकहरूलाई पुँजी कोष पर्याप्तता अनुपातमा समेत दबाब थियो। यही कारण ती बैंकहरूले चाहेर पनि कर्जा लगानी गर्न सकिरहेका थिएनन्। अहिले भने यस्तो दबाब समेत कम भएको बैंकरहरूले बताएका छन्।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar