काठमाडौँ। घरजग्गा कारोबारमा देखिएको मन्दीको प्रभाव जग्गाको कित्ताकाटमा पनि परेको छ। कात्तिक महिनामा पनि कित्ताकाट बढ्न नसकेको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकले देखाएको छ।
सरकारले वर्गीकरण नगरेको जग्गा पनि १ वर्षसम्मका लागि साविककै अवस्थामा कित्ताकाट गर्न खुला गरेको छ। तैपनि कित्ताकाट भने बढ्न सकेको छैन।
कात्तिकमा देशभर ७३ हजार ६८ कित्तकाट भएका छन्। यो संख्या अघिल्लो महिना असोजको तुलमा एक सयमात्र धेरै हो। असोजमा ७२ हजार ९५८ कित्ताकाट भएको विभागले जनाएको छ।
२०८० कात्तिकमा पनि ७० हजार मात्रै कित्ताकाट भएको थियो। गत वर्ष एउटै महिना (कात्तिकमा) ठूला चाडपर्व दशैं र तिहार परेको हुँदा आधा महिना सार्वजनिक बिदा भएकोले कित्ताकाट घटेको थियो। यो वर्ष पनि कात्तिकमा तिहार र छठको सार्वजनिक बिदाले धेरथोर प्रभाव पारेको देखिन्छ।
२०७९ कात्तिकमा अझै कम कित्ताकाट भएको थियो। सरकारले भूउपयोग नियमावली २०७९ लागू गरेको र देशैभर कित्ताका ठप्प हुँदा कात्तिकमा २२ हजार ५६५ मात्रै कित्ताकाट भएको विभागले जनाएको छ।
उपत्यकामा साढे पाँच हजार कित्ताकाट
काठमाडौँ उपत्यकाका ९ वटा मालपोत कार्यालयबाट ५ हजार ३६२ मात्रै कित्ताकाट भएको देखिन्छ। उपत्यकामा खाली जग्गा कमी हुँदै गएपछि कित्ताकाट पनि कम हुँदै गइरहेको हो।
विभागका अनुसार उपत्यकामा लगनखेलबाट १२ सय २४, गोटीखेलबाट १८, भक्तपुरबाट ११ सय ७४, डिल्लीबजारबाट १९६, चावहिलबाट ७२१, कलंकीबाट ८३३, साँखुबाट ६५१, मनमैंजुबाट ३८८ र टोखाबाट १५७ कित्ताकाट भएका छन्।
धेरै कित्ताकाट हुनेमा कैलाली पहिलो
कात्तिक महिनामा कैलालीको धनगढी मालपोत कार्यालयबाट सबैभन्दा धेरै कित्ताकाट भएको छ। एक महिनामा धनगढीबाट २५ सय ८९ कित्ताकाट भएका छन्।
मोरङको बेलवारीबाट २२ सय ३, धनुषाको जनकपुरधामबाट २१सय ८, सप्तरीको राजविराजबाट २ हजार ६७, सिराहाबाट १८ सय ३७, सुनसरीको इनरुवाबाट १७ सय ६२ कित्ताकाट भएका छन्।
यस्तै, बाँकेको नेपालगञ्जबाट १७ सय ५३, कन्चनपुको महेन्द्रनगरबाट १७ सय ३५, पर्साबाट १५ सय ७७, सर्लाहीको मलंगवाबाट १५ सय १२ कित्ताकाट भएको विभागले जनाएको छ।