यस्ता छन् गुठी सम्बन्धी जान्नै पर्ने कुराहरू

काठमाडौँ।  गुठी भनेको के हो? आजको लेखमा गुठीको बारेमा हामी चर्चा गर्ने छौँ। 

गुठी भनेको कुनै देवीदेवता वा मठको पर्व, पूजा वा जात्रा चलाउन र कुनै धार्मिक परोपकारी कामको लागि मन्दिर देवस्थल धर्मशाला इनार पाटी पौवा तलाउ बाटो पुल चौतारा बाग बगैँचा गौचरन पुस्तकालय ‌पाठशाला चिकित्सालय वा कुनै अन्य इमारत बनाउन चलाउन र संरक्षण गर्नको लागि कुनै दाताले आफ्नो हकदाबी पुग्ने चल अचल सम्पत्तिलाई राखिदिएको एउटा गुठी भन्ने बुझिन्छ।

कानुनमा गुठी सम्बन्धी के व्यवस्था छ त?

कानुनतः गुठी व्यवस्था सर्वप्रथम वि. सं. १९१० सालमा जङ्गबहादुरले मुलुकी ऐन जारी गर्दा राखेका थिए। गुठीलाई प्रोत्साहन गर्नको लागि जङ्गबहादुरले गुठी जारी गरेमा सात पुस्ता सम्म पुण्यफल प्राप्त हुने बताएका थिए। पछि मुलुकी ऐन २०२० मा पनि गुठीको प्रावधान राखियो। गुठी सम्बन्धी नै ऐन चाहिँ २०२१ सालमा ल्याइयो। हाल प्रचलित ऐन मध्ये गुठी संस्थान ऐन २०३३, र मुलुकी देवानी संहिता २०७४ मा गुठी सम्बन्धी स्पष्ट व्यवस्था रहेको पाइन्छ।

गुठी कति प्रकारका हुन्छन् त?

कानुन अनुसार नै गुठीका प्रकारहरु फरक फरक छन्। मुलुकी देवानी संहिता २०७४ मा २ प्रकारको गुठीको व्यवस्था गरिएको छ, सार्वजनिक गुठी र निजी गुठी।

त्यस्तै गुठी संस्थान ऐन २०३३ मा चाहिँ गुठीलाई ३ प्रकारमा परिभाषित गरेको पाइन्छ, राजगुठी छुटगुठी र निजी गुठी।

सार्वजनिक गुठी र निजी गुठी बीचको फरक

गुठी संस्थान ऐन २०३३ मा व्यवस्था भएको राजगुठी र छुटगुठी भनेका सार्वजनिक गुठी हुन्। सार्वजनिक गुठीमा प्राप्त चल वा अचल सम्पत्ति र त्यसको आम्दानी सार्वजनिक महत्वकै कार्य जस्तै कुनै धार्मिक, सामाजिक शैक्षिक परोपकारी र सांस्कृतिक कार्यमै लगाउनुपर्छ।

त्यस्तै निजी गुठीको चल अचल सम्पत्ति र त्यसको आम्दानी चाहिँ कुनै व्यक्ति वा समूह विशेषको हित लाभ र सुविधाका निम्ति प्रयोग गर्न सकिन्छ।

सार्वजनिक गुठी भङ्ग भएमा के हुन्छ त?

सार्वजनिक गुठी भङ्ग भएमा के हुन्छ भन्ने कुराको निर्क्यौल गुठीको संस्थापनापत्रमै व्यवस्था भएको हुन्छ। यसरी संस्थापनापत्रमा व्यवस्था भएकोमा बाहेक सरकारी अधिकारीको आदेशले गुठीको सम्पत्ति उस्तै प्रकृतिको उद्देश्य भएको अन्य कुनै सार्वजनिक संस्थालाई हस्तान्तरण गरिन्छ।    

निजी गुठी भङ्ग भएमा के हुन्छ?

निजी गुठी भङ्ग हुँदाको अवस्थामा निजी गुठीको सम्पत्ति यकिन भएको हदसम्म हितग्राही र यकिन नभएको स्थितिमा हितग्राहीको हकवाला, हकवाला पनि नभएमा गुठीको संस्थापक र गुठीको संस्थापक पनि नभएको अवस्थामा गुठी संस्थापकको हकवालालाई हक हस्तान्तरण गर्न सकिन्छ।

गुठीको जग्गा किनबेच गर्न पाइन्छ त?

गुठी सञ्चालन भइरहेको अवस्थामा गुठीको जग्गा किनबेच वा लगानी गर्न मिल्दैन। सार्वजनिक गुठीको जग्गा चाहिँ गुठी बन्द भइसकेपछि पनि व्यक्तिले किनबेच गर्न मिल्दैन। तर निजी गुठी चाहिँ बन्द हुने अवस्थामा हितग्राही भएको अवस्थामा हितग्राही र हितग्राही नभएको अवस्थामा गुठी संस्थानले लिलाम बढाबढबाट गुठी रैतान नम्बरी जग्गामा रूपान्तरण गरिदिने व्यवस्था रहेको छ। त्यस्तो जग्गाको स्वामित्व व्यक्ति सङ्ग हुने हुँदा किनबेच गर्न मिल्छ तर गुठी रैतान नम्बरी जग्गा लिँदा अनिवार्य रूपमा गुठी संस्थानलाई नै कर तिर्न पर्ने हुन्छ।

गुठीले आफ्नो प्रयोजनको लागि नयाँ जग्गा किन्ने गर्न चाहिँ पाउँछ। मुलुकी देवानी संहिता, २०७४ को दफा ३२३९३० अन्तर्गत गुठीको उद्देश्य पूरा गर्न तत्काल आवश्यक नपर्ने सम्पत्तिबाट प्राप्त भएको आर्जन वापतको रकम गुठीको उद्देश्य पूरा गर्न लगानी गर्न सकिनेछ भनि उल्लेख गरिएको पाइन्छ। गुठीले आफ्नो उद्देश्य पूरा गर्नको लागि सम्पत्ति आर्जन गर्नको लागि नयाँ लगानी गर्ने कुरा यस दफामा बताइएको छ।

के गुठीको जग्गा धितो बन्धक राखेर ऋण लिन मिल्छ?

मुलुकी देवानी संहिता २०७४ को दफा ३५० मा जुन उद्देश्यको लागि गुठीको स्थापना भएको हो सोही उद्देश्यको लागि मात्र गुठीको जग्गा प्रयोग गर्न पाउने नियम छ। सार्वजनिक गुठीको जग्गा सार्वजनिक प्रयोजनको लागि मात्र धितो बन्धक राख्न पाइन्छ। निजी गुठीको जग्गा हितग्राहीको हित हुने प्रयोजनको लागि मात्र धितो बन्धक राख्न पाइन्छ।

गुठीको जग्गा बेच्न पनि मिल्छ तर त्यसो गर्दा गुठीको जग्गालाई रैतान नम्बरी जग्गामा परिणत गरेर दर्ता गर्नुपर्छ। यसरी रैतान नम्बरी जग्गा बनाएपछि गुठी संस्थानलाई अनिवार्य रूपमा मालपोत बुझाउनुपर्छ।

गुठीको जग्गामा नक्सा पास गरेर संरचना बनाउन पाइन्छ? 

गुठीको जग्गामा नक्सा पास गरेर संरचना बनाउन मिल्छ। त्यसको लागि कुनै पनि गुठी तैनाथी जग्गा उपयुक्त देखिएमा बढाबढ गराई गुठी रैतान नम्बरी जग्गामा परिणत गरी दर्ता गर्न सकिन्छ। तर सर्वोच्च अदालतमा यस सम्बन्धमा रित दायर गरी सर्वोच्च अदालतद्वरा प्रतिपादित सिद्धान्तमा चाहिँ यसरी गरिएको परिणत निजी गुठीमा मात्र लागू हुने र सार्वजनिक गुठी मासिएको ठहर्ने भएकाले हाल यो प्रावधान निष्क्रिय छ।

गुठी संस्थान ऐन २०३३ का अनुसार गुठीको जग्गा जोत्ने जोताहा किसानलाई मोहियानी हक समेतको व्यवस्था गरेको छ। भूमि सम्बन्धी ऐन २०२१ वा अन्य ऐनमा जे कुरा लेखिएको भए पनि गुठी संस्थान ऐन २०३३ अनुसार मोहीयानी हक सुरक्षित गरिएको लेखिएकाले मोहियानी हक खरिद बिक्री समेत हुन सक्नेछ।

गुठीको जग्गा आवाद गरेमा कहिलेसम्म उजुरी गर्न मिल्छ?

मुलुकी देवानी सहिता, २०७४ को दफा ३५१ अन्तर्गत गुठीको काम कारबाहीबाट मर्का पर्ने व्यक्तिले उजुरी गर्दा गुठीको सम्पत्ति हिनामिना गरेको, गुठीको सम्पत्तिसँग सम्बन्धित कुनै लिखत जालसाजी वा किर्ते गरेको, गुठीको सम्पत्ति मासे खाएको, सञ्‍चालकले गुठी संस्थापनापत्रको शर्त विपरीत फाइदा लिएको, गुठीको सम्पत्ति वा सोको मूल्य वा आय सञ्‍चालक वा अन्य व्यक्तिबाट फिर्ता गराउनु परेको कुरामा जहिलेसुकै पनि उजुरी गर्न सकिन्छ।  

यस्ता कामहरूका लागि कानुनले हदम्याद तोकेको छैन। तर, माथि उल्लिखित विषयमा बाहेक अन्य विषयमा उजुरी गर्न पर्दा कारण भएको मितिले ६ महिनाभित्र उजुरी गर्न सकिने व्यवस्था कानुनमा उल्लेख छ।

प्रतिक्रिया